सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

रिपोर्ट नेपाल | 2022 Jul 21 | 06:20 pm 1637

काठमाडौं, साउन ५ः सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को यही साउन २ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ ८९ जना र सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूह तर्फका ७ जना जुनियर अधिकृतहरु सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा भएका थिए ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लामो सयम जुनियर अधिकृत दर्जामा रहँदाको अनुभवलाई संगठनको हित र उच्चतम् विकासमा योगदान पुर्‍याउन निर्देशन दिदै बढुवा भएका अधिकृतहरुलाई हार्दिक बधाई तथा आगामी दिनको कार्य सफलताको शुभकामना समेत व्यक्त गरे ।

उनले संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकास र उन्नतिको लागि संगठनले हर सम्भव प्रयास गरिरहेको उल्लेख गर्दै कार्य सम्पादन मूल्यांकन तथा चुनौतीपूर्ण कार्यको मूल्यांकनलाई यथार्थपरक बनाउनुको साथै व्यावसायीक कार्यशैलीको निष्पक्ष र पारदर्शी तवरले बढुवा समितले मूल्यांकन गरिरहेको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जुनियर अधिकृतबाट सिनियर अधिकृतका रुपमा रुपान्तरण हुँदा जिम्मेवारी पनि स्वतः बृद्धि हुने र सोको मर्यादा र गरिमा राखेर आगामी दिनहरुमा थप उत्प्रेरित भएर उच्च मनोबल र हौसालाका साथ कार्य गर्न समेत निर्देशन दिए ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत एवं बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।

श्रोत नखुलेको नेपाली रुपैयासहित एक जना पक्राउ
सर्लाही जिल्लाको बिष्णु गाँउपालिका १ बारास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको १७ लाख ८२ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बाग्मती नगरपालिका १० बस्ने २३ वर्षिय सुमन बि.क. रहेका छन् ।

प्रदेश ०२–००३–००६ प ३४५१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका  बि.क.लाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बाराबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो । त्यसवेला उनको साथबाट ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर, चाँदीको ब्रास्लेट १ थान, चाँदीको औंठी १ थान, मोवाईल सेट ३ वटा र उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

विभिन्न किसिमका लागूऔषधसहित एक जना पक्राउ
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित हुलास चोकबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित धनकुटा जिल्लाको पाख्रीवास ३ बस्ने २१ वर्षिय बिशाल लिम्बुलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका लिम्बुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजेपाम १५ एम्पुल, एभिल १५ एम्पुल, फेनारगन १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल र ९ वटा निट्राभेट ट्याब्लेट फेला पारेको हो । पक्राउ परेका लिम्बुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाईएको छ ।

यार्सागुम्बासहित एक जना पक्राउ
बर्दिया जिल्लाको गुलरिया नगरपालिका ११ गणेशपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब ३९ लाख २० हजार रुपैयाँ बराबरको यार्सागुम्बासहित भारत घर बताउने ३० बर्षिय कमल अहमदलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखितमूल्य बराबरको १ किलाे ७०० ग्राम यार्सागुम्बासहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका निज अहमदलाई बरामद यार्सागुम्बासहित आवश्यक कारवाहीको लागि डिभिजन वनकार्यालय गुलरियामा बुझाइएको छ ।

भरुवा बन्दुक बरामद
बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका १ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले एउटा भरुवाबन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले उक्त भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको हो । बरामद भरुवा बन्दुक प्रहरी चौकी जमुनी फुटाहामा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.