सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

रिपोर्ट नेपाल | 2022 Jul 18 | 08:00 pm 1913

काठमाडौं, साउन २ः सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा साउन २ गते आयोजित एक समारोहका बीच नेपाल सरकार माननीय मन्त्रीस्तरको असार २८ गतेको निर्णयले सशस्त्र प्रहरी बल नेपालको साधारण समुह, लेखा उप–समूहतर्फको सशस्त्र प्रहरी उपरीक्षक पदबाट सोही उप– समूहको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका होम ज्ञवालीलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

त्यसअवसरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका ज्ञवालीलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिदै संगठनमा खाली रहेका विभिन्न समूहका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी संगठन नेपाल सरकार गृह मन्त्रालय सँग समन्वयका साथ अगाडी बढिरहेको बताए । उनले सशस्त्र प्रहरी अधिकृत जवानहरुले उत्कृष्ट कार्यसम्पादनका साथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा आ–आफ्नो ठाउँबाट पुर्‍याएको योगदानले सांगठनिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै
राष्ट्रसेवक सशस्त्र प्रहरीहरुले फौजी अनुशासनमा रहँदै दर्जा अनुरुप प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आर्थिक अनुशासनको पूर्ण पालना गर्दै कार्यसम्पादनमा जुट्नु पर्नेमा जोड दिदै सशस्त्र प्रहरी बल नेपालका कुनै पनि ईकाइ तथा कर्मचारीहरुबाट आर्थिक पक्षमा समस्या तथा गुनासोहरु नआउने गरी पूर्ण व्यवसायिक भई सेवा प्रवाहमा लाग्न अधिकृतहरुलाई त्यसै अवसरमा निर्देशन दिए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल रचन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

सशस्त्र प्रहरी अधिकृतहरुलाई फ्रेन्च भाषा प्रशिक्षण सुरु
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा साउन २ गतेदेखि सशस्त्र प्रहरी अधिकृतहरुलाई लक्षित गरी फ्रेन्च भाषा प्रशिक्षण कक्षा संचालन गरिएको छ । सो प्रशिक्षण कार्यक्रमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले फ्रेन्च भाषाको आवश्यकता र महत्व दिनानु दिन बढ्दै गईरहेको चर्चा गर्दै संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा तैनाथीको लागि जाने सशस्त्र प्रहरी कर्मचारीहरुलाई लक्षित गरी फ्रेन्च भाषामा दक्ष बनाउँदै लैजाने संगठन प्रमुखको उद्देश्य अनुरुप उक्त प्रशिक्षण  कक्षा संचालन गरिएको बताए ।

उनले संयुक्त राष्ट्रसंघको अफिसियल भाषाहरु मध्ये फ्रेन्च भाषा एक महत्वपूर्ण भाषा रहेकोले सशस्त्र प्रहरी कर्मचारीहरुलाई उक्त भाषामा दक्ष बनाई भविष्यमा विभिन्न मिशनमा खटिँदा भाषा सम्बन्धमा कुनै कठिनाईहरु नआओस र भविष्यमा विभिन्न मिशन ईलाकामा खटिनु पुर्व फ्रेन्च भाषामा लिईने परिक्षामा समेत धेरै भन्दा धेरै उत्तिर्ण भई सशस्त्र प्रहरीको सहभागिता
बढ्ने विश्वासका साथ भाषा प्रशिक्षण सुरु गरिएको बताए ।

त्यसअवसरमा एलायन्स फ्रँसेका डेपुटी डाईरेक्टर प्रविण राणाले फ्रेन्च भाषाको महत्व तथा आवश्यकता माथि प्रकाश पार्दै सशस्त्र प्रहरी बल नेपाल र फ्रान्सेली संस्थाबीच समझदारी गरी उक्त भाषा प्रशिक्षण कक्षा सुरु गरिएको बताए । उक्त फ्रेन्च भाषा प्रशिक्षणमा ४ जना सशस्त्र प्रहरी उपरीक्षक सहित कुल ४० जना सशस्त्र प्रहरी अधिकृत तथा जुनियर अधिकृतहरुको सहभागीता रहेको छ ।

खोला तर्ने क्रममा बगेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
बारा जिल्लाको निजगढ नगरपालिका ८ स्थित बकैया खोला तर्ने क्रममा बगेका सोही ठाँउ बस्ने ७८ बर्षिय यमलाल अधिकारीलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । एक जना व्यक्तिलाई खोलाले बगाएको भन्ने जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस निजगढबाट खटिएको सशस्त्र प्रहरीले निज अधिकारीलाई घटनास्थलभन्दा करीब पाँच सय मिटर तलबाट सकुशल उद्धार गरेको हो ।

लागूऔषधसहित तीन जना पक्राउ
झापा जिल्लाको कचनकवल गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ७ वटा नाईट्रोजन ट्याब्लेट र ३२ वटा विनस्पास्मो फोर्ट नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको भद्रपुर नगरपालिका १ बस्ने २२ वर्षिया एन्जल थापा मगर र गोबिन क्षेत्री छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी पाठामारी मातहत फरवार्ड सुरक्षा वेश डाँगावारीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो ।

यसैगरी पर्सा जिल्लाको बिन्दवासिनी गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको सुगौली गाँउपालिका ३ बस्ने १७ बर्षिय मन्जित रामलाई पक्राउ गरेको छ । ना ५२ प ६१४६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी प्रसौनीभाठाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम ५१ बोतल, नोफिन ५१ बोतल, फेनारागन ४९ बोतल र नाईट्रोभेट ट्याब्लेट २० वटा फेला पारेको हो ।  पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

१ सय ९२ किलाे गाँजासहित स्कारपियो गाडी बरामद
रौतहट जिल्लाको राजपुर नगरपालिका ६ स्थित कुटियाबाट सशस्त्र प्रहरीले करीव १ सय ९२ किलाे गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरीले सो ठाउँमा रहेको बगैचामा पार्किङ्ग गरि राखेको डीएल ४ सीएनबी ६२२९
नम्बरको स्कारपियो गाडीमा शंका लागि जाँच गर्दा उल्लेखित परिमाणको गाँजा बरामद गरिएको हो । सशस्त्र प्रहरीले त्यसवेला उक्त गाडी समेत बरामद गरेको छ । बरामद गाँजा तथा गाडी नेपाल प्रहरीमा बुझाईएको छ ।

लाखौ मुल्यको चोरीपैठारीका विभिन्न सामान बरामद
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित पिप्रहवाबाट सशस्त्र प्रहरीले करीव २ लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

यसैगरी महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका २ स्थित टेङ्गरबाट सशस्त्र प्रहरीले करीव १ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । ज १ ह ५१०३ नम्बरको अटोमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी पोखरभिण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त अटो समेत बरामद गरिएको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी पशुपतिनगरबाट खटिएको सशस्त्र प्रहरीले करीब १ लाख १९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा ईलाम जिल्लाको सूर्योदय नगरपालिका २ चारमाईल स्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट खटिएको सशस्त्र प्रहरीले रौतहट जिल्लाको गरुडा नगरपालिका १ जयनगरबाट करीब १ लाख ३ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा बरामद गरेको छ । बरामद सामानहरु आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.