सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कर्णाली प्रदेशमा महिला स्वास्थ्य सम्बन्धि प्रशिक्षण आयोजना

रिपोर्ट नेपाल | 2022 Feb 22 | 09:03 pm 3009

सुर्खेत, फागुन १०ः सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, कर्णाली प्रदेशमा मंगलबार महिलाको स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण, भी.आई.ए., भी.आई.एल.आई. जाँच तथा रोगको पहिचाहन, उपचार सम्बन्धि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

कर्णाली प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष श्रीमती मिनाकृष्ण खड्काले पानसमा द्विप प्रज्ज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गरेकी हुन् । उक्त प्रशिक्षण कार्यक्रममा गाईनोलोजी अन्कोलोजिष्ट प्रा. सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले महिलाको पाठेघर सम्बन्धि रोगको उपचार विधि तथा महिलाको पाठेघर सम्बन्धि विविध समस्याको समयमा पहिचान नहुँदा आउनेसक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा समेत प्रशिक्षण गरिन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी तथा उक्त बाहिनी मातहत एम.आई.रुपमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारी, कर्णाली
प्रदेश अस्पतालका स्वास्थ्यकर्मीहरु र स्थानीय क्लिनिकमा कार्यरत महिला स्वास्थ्यकर्मीहरु समेत गरी ३३ जनालाई उक्त प्रशिक्षण प्रदान गरिएको हो ।

सशस्त्र प्रहरी परिवार महिला संघले महिलाको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उद्देश्यले आयोजना गरेको सो प्रशिक्षणमा कर्णाली प्रदेश सशस्त्र प्रहरी परिवार महिलासंघका पदाधिकारी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मातहतमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरु एवं स्थानीय महिला दिदीबहिनीहरु गरी कुल १ सय ६ जनाको सहभागिता रहेको थियो ।

अवैध सामान बरामद 
पर्सा जिल्लाको विरगंज महानगरपालिका २ हरपतगंज ईलाकाबाट साेमबार सशस्त्र प्रहरीले करीव १६ लाख २३ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । सो ठाउँमा रहेको एक गोदाम घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नम्बर १३ गण पर्सा, बिओपी वीरगंजबाट खटिएको सशस्त्र प्रहरी र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले बरामद गरेको हो ।

यसैगरी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ३ ब्रम्हदेव रोड ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले करीव ९ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोर्टर पार्टस बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको उक्त मोर्टर
पार्टस सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.