सवैलाले उचाल्‍यो प्रदेश स्तरीय कबड्‍डीको उपाधि

रिपोर्ट नेपाल | 2018 Oct 20 | 06:19 pm 2157

जनकपुरधाम, कार्तिक ३: विजया दशमीको अवसरमा आयोजित प्रदेश स्तरीय कबड्‍डी प्रतियोगिताको उपाधि घरेलु टिम सवैला नगरपालिकाले जितेको छ ।

प्रत्येक वर्ष दशैंमा सवैलामा आयोजना हुने कबड्‍डी प्रतियोगीता यस वर्ष प्रदेश स्तरीय रुपमा आयोजना गरिएकोमा देशमै अब्बल टिम मानिएका कबड्‍डी संघ धनुषाको टिमलाई पराजित गर्दै सवैला टिम उपाधि जित्‍न सफल भएको हो ।

धनुषाको आधिकारिक टिमलाई ३४-३२ अंकले हराउँदै सवैला नगद पुरस्कार ५१ हजारसहित प्रथम उपाधि चुम्‍न सफल भएको हो। धनुषाले ३१ ह्जार नगदसहितको दोस्रो पुरस्कारमा चित्त बुझाउनु पर्‍यो। शुक्रवार बेलुकी नै शुरु भएको फाइनल प्रतिस्पर्धा साँझ परेपछि शनिवार बिहान सारिएको थियो। शुक्रवार स्थगित हुदाँ समेत सवैला एक अंकले अगाडि थिए।

शनिवार पुनः शुन्यबाट खेल शुरु भएको थियो । त्यसैगरि महिलातर्फको उपाधि भने धनुषा संघकै महिला टिमले जितेको छ। सप्तरी टिमलाई पराजित गर्दै धनुषा उपाधि जित्न सफल भएको हो ।

विजेता र उपविजेता दुवै टिमलाई सवैला र सहिदनगर नगरपालिकाका मेयरद्‍वय विजयशंकर साह र उदय यादव वरवरिया र कबड्‍डी संघका केन्द्रीय उपाध्यक्ष विरेन्द्र यादवले प्रदान गरेको थिए।

पहिलो हुने दुवै टिमको प्रथम पुरस्कार सवैला र दोस्रो हुने दुवै टिमको पुरस्कारको सौजन्य सहिदनगर नगरपालिकाले गरेको थियो । श्री गुराँस युवा क्लव सवैलाको अयोजनामा हुने प्रतियोगीता प्रदेश स्तरीय सम्म आइपुगेको र अगामी दिनमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने क्लवका अध्यक्ष नथुनी यादवले घोषणा गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.