सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्ने

रिपोर्ट नेपाल | 2021 Apr 13 | 07:25 am 1709

काठमाडौं, चैत ३१ः सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश तेजकुमार केसीको एकल इजलासले सुवेदीमाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको हो ।

न्यायपरिषद्ले गत २८ फागुनमा उच्च अदालतका दुई मुख्य न्यायाधीश नहकुल सुवेदी र कुमार चुडाललाई सर्वोच्चको स्थायी न्यायाधीशमा सिफारिस गरेको थियो । उनीहरूको संसदीय सुनुवाइ आगामी ३ वैशाखका लागि तोकिएको छ । मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले संसदीय सुनुवाइ समितिले आगामी ३ वैशाखका लागि सुनुवाइ तोकेको हो । सुवेदी विषयमा संसदीय सुनुवाइमा समेत योग्यता प्रश्न उठाउँदै उजुरी परे पनि अब सर्वोच्चले मुद्दा खारेज गरेसँगै संसदीय सुनुवाइलाई उनको विषयमा निर्णय लिन सहज भएको छ ।

सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको योग्यता नपुग्ने भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । समितिमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले उजुरी दिएका थिए । समितिमा सुवेदीको पाँच वर्ष मुख्य न्यायाधीश हुनुपर्ने योग्यता नपुगेको र चुडालले नक्कली भ्याट बिललगायत मुद्दामा त्रुटिपूर्ण फैसला गरेको उजुरीमा दाबी गरिएको थियो । न्यायाधीश सुवेदीको योग्यता विषयमा प्रश्न उठाउँदै अधिवक्ता दिनेश श्रेष्ठले न्यायाधीश हुन उनीसँग संविधानको धारा १२९ (५)ले तोकेका चारमध्ये कुनै पनि योग्यता नभएकोसहित सर्वोच्चमा रिट र सुनुवाइ समितिमा उजुरी हालेका थिए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.