सर्लाहीका उखु किसान चिनी मिलमा ताला लगाएर बस्नथाले धर्नामा

रिपोर्ट नेपाल | 2020 Jan 26 | 09:14 am 1551

सर्लाही, माघ १२: जिल्लाको क्षेत्र नम्बर ४ प्रदेश (क) का प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले नेतृत्व गरेको किसानहरुले सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलमा तालाबन्दी गरेर धर्नामा बसेका छन्।

उखु किसानसँग सरकारले गत पुस १८ गते गरेको सहमति कार्यान्वयन नगरेको भन्दै उखु किसानले शनिबार दिउँसो मिलका गेट अगाडि टायर बालेर प्रदर्शनसमेत गरेका थिए।

अन्नपूर्ण सुगर मिल धनकौलले किसानलाई तीन वर्षदेखिको करिब ४० करोड भुक्तानी दिन बाँकी रहेको प्रदेशसभा सदस्य सिंहले दावी गरेका छन्। सिंह त्यसै निर्वाचन क्षेत्रका लागि नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

माघ ७ गतेभित्र सरकारले भुक्तानी नदिएकाले आफूहरु बाध्य भएर अन्दोलनमा उत्रिनु गर्नुपरेको उखु किसान रामविलास साहले बताए। उद्योगले पुरानो बाँकी रकम नदिएसम्म मुल गेटमा लगाएको ताल नखोल्ने र धर्ना जारी राख्ने किसानहरुले बताएका छन्।

अन्नपूर्ण सुगर मिलको भण्डारण कक्षमा अहिले जम्मा पाँच करोडको मात्र चिनी बाँकी रहेकाले किसानलाई त्यति रकमले तिर्न नपुग्ने धर्नामा सहभागी किसानहरुको भनाइ छ।

त्यस्तै शनिबार हरिवनमा बसेको विभिन्न किसान संघ संगठन आबद्ध बैठकले उखु किसानको बाँकी भुक्तानीका लागि प्रधानमन्त्रीको ध्यानआर्षण गराउने निर्णय भएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.