सरकारविरुद्ध तरुण दलको शक्ति प्रदर्शन

| 2018 Jun 27 | 02:51 pm 5701

काठमाडौं, १२ असार : नेपाल तरुण दलले सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ। नेपाल तरुण दल केन्द्रीय समितिको आयोजनामा बुधबार दिउँसो दुर्इ बजे रत्नपार्कस्थित शान्तीबाटीकामा सरकारले गरेको मूल्य वृद्धि, प्रेस स्वतन्त्रतामाथि दमन गरेको विरोधमा शक्ति प्रदर्शन गरेको हो ।

नेपाल तरुण दलले मूल्य वृद्धि, प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप, अदालतको अपहेलना र भ्रष्टाचारको विरोधमा दिउँसो २ बजे शान्तीबाटीका रत्नपार्कमा विरोध प्रदर्शन गरेकाे नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहिले बताए ।

सञ्चारमन्त्रीले शक्तिको आडमा नेपाल टेलिभिजनको कार्यक्रम नै बन्द गरी संविधान विपरीत काम गरिरहेको आरोप लगाएका छन् । शक्तिको दुरुपयोग गर्दै राज्यको चौथो अंग प्रेसमाथिको हस्तक्षेप नेपाली जनतालार्इ सह्य नहुने कार्यक्रममा सहभागी वक्ताहरूले बताएका छन् । प्रेसमाथि अंकुश लगाएर जनताको सुसूचित हुने अधिकार हनन गरी संविधान विपरीत कार्यमा सरकार लागेको तरुणले आरोप समेत लगाए।

बृहत सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सरकार बनाउँदा तरुण दलले स्वागत गरेको थियो, त्यो बेला हामीले देएको राजनीतिले स्थायित्व पाउछ भने जसको सरकार बने पनि आपति छैन भनेका थियौँ । तर दुर्भाग्य केपी ओली नेतृत्वको सरकारले दुई तिहाइको दम्भ देखाएर निरकुंशताको मार्गमा अघि सरेको छ । राणा, पञ्चायत र राजा ज्ञानेन्द्रको निरकुंशतासँग लडेको कांग्रेस ओलीकाविरुद्ध लड्न कुनै कठिन नहुने अध्यक्ष बस्नेतले बताए ।  अहिले सडक सदन र जंगलमा रहेका कम्युनिष्टबाट लोकतन्त्रमाथि खतरा भएकोले त्यसको रक्षाका लागि तयारी रहन अध्यक्ष बस्नेतले तरुणहरुलाई निर्देशन दिए ।

कार्यक्रममा उपाध्यक्ष उत्तम कुमार चापागाई, महासचिव भुपेन्द्रजंग शाहि , कोषाध्यक्ष विद्धान गुरुङ लगायतका तरुण नेताहरुले केपी ओली नेतृत्वको सरकार अधिनायकवाद तर्फ अघि बढेको आरोप लगाए ।

सरकारले दुर्इ तिहाइको आडमा मनोमानी गरेको तरुणको आरोप छ । दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेर जनतालार्इ कंगाल बनाउन सरकार उद्दत भएको र तत्काल मूल्य वृद्धि फिर्ता लिन नेताहरुले आग्रह गरेका छन् ।

कार्यक्रममा तरुण दलका केन्द्रीय समितिका पदाधिकारीहरू, विभिन्न जिल्लाका प्रतिनिधिहरू, काठमाडौंको सबै निर्वाचन क्षेत्रको क्षेत्रीय अध्यक्ष, महानगर अध्यक्ष, नगर अध्यक्ष, इकाई तथा सम्पूर्ण समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.