‘सरकारले निषेधको राजनीति सुरु गरेको छ, यसको जवाफ हामीले दिन्छौँ’ : गगन थापा

| 2019 Jan 25 | 04:28 pm 2199

काठमाडौं, माघ ११ : नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले पेश गरेको चिकित्सा शिक्षा विधेयक २०७५ दुईतिहाइ बहुतबाट पारित गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रोशित भएको छ । कांग्रेसकाे नाराबाजीबीच विधेयक बहुमतले पारित भएपछि कांग्रेस सांसद गगन थापाले एक पटक पनि सम्वादको पहल नगरी सरकारले पेलेर विधेयक पारित गरेको आरोप लगाएका छन् ।

सरकारले थालेको निषेधको राजनीतिमा सभामुख कृष्णबहादुर महराले सरकारको आदेश पालक जस्तो भएर सहयोग गरेको उनले बताए। उनले भने, ‘प्रमुख प्रतिपक्षी दल विरोधको स्वरसहित सदनमा उभिइरहेको बेला सरकारले निषेध गर्‍यो, यसले दुईतिहाइको दम्भमा नेकपाको सरकारले देशैभरी निषेधको राजनीतिक थालेको छ, यसको जवाफ हामी दिन तयार छौँ, सभामुखले आग्रह र जालझेलपूर्ण व्यवहार गरेका छन् ।’

थापाले मेडिकल कलेज खोल्ने उद्देश्यसहित चिकित्सा शिक्षा विधेयक पारित भएको उनले बताए। साथै उनले आज सदनमा भएको काम कारबाही नहुनुपर्ने तरिकाले भएको बताए।

समाजवाद ल्याउने सरकारले सरकारी स्वास्थ्य संस्था खोल्ने कुरालाई कुल्चेर विधेयक पारित गरेको उनले बताए। उनले आजको गतिविधि सरकार र सभामुख दुवैका लागि महँगो पर्ने बताए। संसदमा आज नेपाली कांग्रेसको अवराेधका बीचमा चिकित्सा शिक्षा विधेयक पारित भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.