सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न पाइन्छ : प्रचण्ड

| 2019 Feb 11 | 05:38 pm 1322

सिरहा, माघ २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताएका छन् ।

सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मधेसी जनताको आवश्यकताअनुसार संविधान संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, आफू  र उपेन्द्र यादवले हस्ताक्षर गरेको बताए ।

पूर्व  पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तरगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने प्रचण्डको भनाइ छ ।

सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर-१ महनौरमा निर्मित स्वास्थ्यचौकीको सोमबार उदघाटन गर्दै प्रचण्डले भने- ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । उपचार नपाएर गरिबीका कारण अब कोही मर्नुपर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ, नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’

सिँचाई र खानेपानी समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको प्रचण्डको भनाइ छ । ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु’ अध्यक्ष प्रचण्डले भने, ‘डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहनेछ । सिराहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला हो । यहाँको आँपको माग विश्वभरि छ । सिरहालाई आँपको जोनको रुपमा विकास गर्न पहल गर्नेछु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.