सरकार ६ महिनामा जस्ट पास मात्र भएको भन्दै कांग्रेसले औंल्याएका यी ७ कमजोरी

| 2018 Aug 19 | 06:08 pm 5014

काठमाडौं, भदाै ३ : प्रमुख विपक्षी नेपाली दल कांग्रेसले सरकार ६ महिनामा पास मात्र भएको बताएको छ । नेपाली कांग्रेसले सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकार बल्लबल्ल पास भएको बताएका हुन् । यसरी बल्लबल्ल पास हुने अवस्थाले देश सम्बृद्धिको बाटोमा नजाने कांग्रेसले जनाएको छ।

जस्ट पास भएर सम्बृद्धिको सपना पुरा नहुने भन्दै  कमजोरी सच्याउन सरकारलाई कांग्रेसकाे आग्रह गरेको छ ।  भदौ एक गतेदेखि लागू भएको रुपान्तरित मुलुकी ऐनका कमजोरीहरुलाई समयमै सच्याउनुपर्ने समेत बताएको छ। प्रेसमाथि अंकुश, चिकित्सकहरुको पेशागत मर्यादाको विषय र प्रहरीको अनुसन्धानमा पर्न सक्ने प्रभावका विषयमा मुलुकी ऐनलाई संशोधन गर्नुपर्ने शर्माले बताए।

पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार प्रभावकारी हुन नसकेको बताए । आफूहरुले सरकारले समृद्धिको सपनालाई अघि बढाओस् भन्ने चाहेको तर, त्यसअनुसार नीति तथा कार्यक्रम र बजेट नआएको भन्दै उनले भने, ‘खोई कहाँ छ दुई तिहाईको सरकार ? कहाँ छ शक्तिशाली प्रधानमन्त्रीको ओझ ? ’

कांग्रेसले सरकारको ६ महिने कार्यकाल पुरा भएको दिन पारेर सरकारका कमिकमजोरी समेत औंल्याएको छ। ‘नेपालमा सरकार गठन भएको १ सय दिन र एक वर्षमा सरकारको समिक्षा हुने भए पनि सरकार आफैंले आफ्नो समिक्षा सार्वजनिक गरेकोले हामीले प्रतिपक्षको हिसाबले कमिकमजोरी औंल्याएका छौं,’ कांग्रेस प्रवक्ता शर्माले भने।

६ महिनामा कांग्रेसले औंल्याएका ७ कमजोरी

१ राष्ट्रियता

वर्तमान सरकार राष्ट्रियतामा चुकेको उनले बताए । उग्रराष्ट्रवादको नारा दिएर चुनाव जितेको नेकपा सरकारमा आएपछि राष्ट्रियताका मुद्दामा चुकेको उनले बताए । उनले भने, ‘चुनावमा उग्रराष्ट्रवादको लहर थियो। तर अहिले त्यो हरायो। खास गरी भारतीय प्रधानमन्त्रीले नेपालको जुन जुन ठाउँमा पाइला टेक्छन् त्यहाँ अभिनन्द गर्न आवश्यक थिएन।’

२ लोकतन्त्र

सरकारले लोकतान्त्रिक संस्कृति स्थापित गर्न बाँकी नै रहेको प्रवक्ता शर्माले बताए । प्रधानमन्त्रीले १४ वर्ष जेल बसेको र लोकतान्त्रिक प्रणालीबाट निर्वाचित भएको बताए पनि लोकतान्त्रिक चरित्रको हुन गाह्रो भएकाे छ ।  अभिव्यक्ति राख्ने, प्रदर्शन गर्ने स्वतन्त्रता खोस्न पाइदैन। प्रेसमाथि आक्रमण भएको छ, जहाँ मन लाग्यो त्यहाँ निषेधित क्षेत्र बनाइएको छ।

३ संघीयता 

कांग्रेसले संघीयता कार्यान्वयनमा सरकार उदासिन भएको आरोप लगाएको छ । संघीयता नौलो अभ्यास हो। दुई वटा प्रदेशले नाम पाए पनि पाँच प्रदेशले अहिलेसम्म नाम पाएका छैनन्।  संघीयतालाई कमजोर बनाउने, संघीयता विरोधी जनमत बनाउने र संघीयताबाट फर्कन खोजेको आशंका गर्दै उनले भने, ‘सरकारको नियतमा शंका छ ।’

४ सुशासन

सरकारले प्रयोग गरेको शैली सुशासनतर्फ लक्षित छैन। उपकुलपतिलाई एयरपोर्टबाट गिरफ्तार गर्ने, सुन तस्कारका बारेमा ठूला भाषण गरे पनि तस्कर पत्ता नलगाउने, प्रधानमन्त्री निवासलाई प्रहरी थाना जस्तो बनाउने गर्नु गलत हो।  सुन काण्डमा पनि ठूला माछा पक्राउ परिन्छ भनेको स्मरण गर्दै शर्माले भने, ‘ठूला माछाहरु कहाँ गए ?’

५ मूल्यबृद्धि

कांग्रेसले सरकार मूल्यबृद्धि नियन्त्रण गर्न पनि असफल भएको आरोप लगाएको छ ।  उपकुलपतिलाई एयरपोर्टबाट गिरफ्तार गर्ने
यसबारे सांसदले प्रश्न गर्दा प्रधानमन्त्रीले ‘म सानो छँदा ९० रुपैयाँ तोला ध्यू पाउँथे, अहिले खोजेर हुन्छ भन्नु झन् दुःख भएको कांग्रेस प्रवक्ता शर्माले बताए ।

६ सम्बृद्धि

दुई तिहाई समर्थन भएको सरकारले सम्बृद्धिमा भंग गर्ने संकेत नदेखाएको कांग्रेसले बताएको छ । सरकारले नारायणगढ मुग्लिन सडक विस्तार, पशुमा कृतिम गर्भाधानलाई आफ्नो ६ महिनाको उपलब्धीका रुपमा प्रचार गरेको भन्दै उनले भने, ‘दुई तिहाईको सरकार नभएपनि त्यो बाटो बन्थ्यो । कमरेड केपी ओली प्रधानमन्त्री भएका कारण गाउँमा पशुको कृतिम गर्भाधान भयो भन्नु हासउठ्दो हुन्छ ।’

७ न्यायालयमाथि हस्तक्षेप

संसदमा दुई तिहाई। सरकारमा दुई तिहाइ छ। न्यायालयमा छाँया परेमा हामी दुर्घटनामा जान्छौं। न्यायपालिकालाई लाचार छाँया बनाउन पाइँदैन। प्रधानमन्त्री आफैले प्रस्ताव गरेको व्यक्तिलाई उहाँका पार्टीका साथीहरु भएको समितिले अयोग्यता देखाउँदै प्रधानन्यायाधीशमा अस्वीकृत गरेको छ। यहाँ प्रधानमन्त्रीको दोहोरो चरित्र देखियो। यसले न्यायालय कमजोर हुन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.