सय वर्ष आयुका २६ गुम्बा

| 2022 Aug 14 | 08:06 am 1821

काठमाडौं, साउन २९ः पुरातत्व विभागले चालु आर्थिक वर्षमा सय वर्ष पुराना २६ गुम्बा पुनर्निर्माण गर्ने भएको छ । विभागले सात वर्षअघिको महाभूकम्पले क्षतिग्रस्त बनेका ती गुम्बाहरूको स्थलगत अध्ययन गरी पुनर्निर्माण गर्ने जिम्मेवारी लिएको हो ।

विभागका महानिर्देशक दामोदर गौतमले २०७२ सालको भूकम्पले ध्वस्त र क्षतिग्रस्त सम्पदामध्ये सय वर्ष पुराना २६ वटा गुम्बा पुनर्निर्माण शुरू गर्न लागिएको जानकारी दिए ।

भूकम्प गएको सात वर्षपछि बल्ल गुम्बा पुनर्निर्माण शुरू हुन लागेको भएपनि संस्कृतिविद् तथा बौद्ध धर्मावलम्बी तथा अन्य सरोकारवालाहरूले प्रसन्नता व्यक्त गरेका छन् । महानिर्देशक गौतमका अनुसार तीमध्ये अधिकांश बहुवर्षीय रहेका छन् । विभागले पुनर्निर्माण शुरू गर्न लागेको अधिकांश गुम्बा ऐतिहासिक रूपमा अति महत्वपूर्ण रहेको बताइएको छ । विभागले पहिलो चरणमा सोलुखुम्वु, दोलखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, गोरखा र नुवाकोट गरी सात जिल्लाका गुम्बा पुनर्निर्माण गर्दैछ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार यसअघि पुनर्निर्माण प्राधिकरणले हस्तान्तरण गरेका सम्पदामध्ये गुम्बा पुनर्निर्माण गर्न लागिएको हो । प्राधिकरणले काम सम्पन्न गरेर सम्पूर्ण सम्पत्ति सरकारलाई हस्तान्तरण गरेपछि खारेज भएको प्राधिकारणको काममध्ये सरकारले सम्पदाअन्तर्गत सय वर्ष पुरानो गुम्मा पुनर्निर्माण गर्ने जिम्मा विभागले लिएको हो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.