अर्घाखाँची, असार २६: सम्बन्धबिच्छेद गरेको १७ दिनमै एक दम्पत्तीले पुनः विवाह गरेका छन् । यसरी विवाह गर्नेमा छत्रदेव गाउँपालिका १ का लिलामनी पौडेल र गुल्मीको छत्रकोट गाउँपालिका १ माइत भएकी जमुना पौडेल रहेका छन् । उनीहरूले सम्बन्धबिच्छेद गरेको १७ दिनमै जिल्ला अदालतमा गएर कोर्ट म्यारिज गरेका हुन् ।
यही असार ५ गते उनीहरुले जिल्ला अदालत अर्घाखाँचीबाट सम्बन्धबिच्छेद गरेका थिए । दुवै जनाको सल्लाह र आफन्तबीच कुरा मिलेपछि सम्बन्धबिच्छेद गरेका दम्पत्तिलाई अदालतले पुनर्मिलन गराएको हो ।
उनीहरुको ६ वर्षका एक छोरा भएकाले दुवैका अभिभावकलगायत आफन्तले छोराको मुख हेरेर पनि अलग्गिन नहुने भन्दै सम्झाएपछि फेरि एक हुने निर्णयमा पुगेको लिलामनीले बताए ।
पतिपत्नीको नाता तोडिसकेपछि उनीहरूले गरेको कोर्ट म्यारिज मुलुकी संहिता लागू भएपछि अर्घाखाँची जिल्ला अदालतमा तेस्रो बिवाह भएको भएको स्रेस्तेदार गम्भीर घिमिरेले जानकारी दिए।
वैवाहिक सम्बन्ध तोडेका दम्पतीले अदालतमा आएर फेरि बिहे गरी भएको पुनर्मिलनले समाजमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको स्रेस्तेदार घिमिरेले बताए।