समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न, शिक्षा नीति परिवर्तन आवश्यक– अध्यक्ष (प्रचण्ड)

| 2018 Nov 14 | 12:18 pm 1551

म्याग्दी, कात्तिक २८  : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वर्तमान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका छन् । म्याग्दी बहुमुखी क्याम्पसले आज बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले केन्द्रीकृत र एकात्मक नीतिका कारण नेपालमा शैक्षिक बेरोजगारको समस्या बढेको उल्लेख गरे ।

आम जनतामा शिक्षा, स्वास्थ्य, रोजगारी दिनु राज्यको दायित्व भएको बताउँदै अध्यक्ष दाहालले शैक्षिक क्षेत्रका सम्पूर्ण समस्या समाधानका लागि सरकारले नयाँ नीति ल्याउने तयारी गरेको जानकारी गराए ।

नेपाली प्रतिभा पलायन रोक्ने, रोजगारी सिर्जना गर्ने, स्वरोजगार बन्ने, देश विकासका लागि योग्य र दक्ष जनशक्ति तयार पार्न मद्दत पुग्ने शिक्षा नीति बनाइने अध्यक्ष दाहालको प्रतिबद्धता थियो ।

तीन दिनसम्म म्याग्दीमा बस्दा विदेश पलायन हुने यहाँको प्रमुख समस्या रहेको अध्यक्ष दाहालले पत्ता लगाए । यस क्षेत्रको प्राकृतिक स्रोत साधनलाई परिचालन गर्ने नीति बनाएर आफ्नै ठाउँमा स्वरोजगार बन्ने नीति बनाउनतर्फ हाम्रो ध्यान जाने बताए ।

दाहालले यो ठाउँमा दर्जनौँ प्राकृतिक तातोपानीका मुहान रहेको म्याग्दीलाई स्वास्थ्य पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने विचार राखे । सदरमुकामको बेनी बजार संरक्षण र बेनी–दरवाङ–ढोरपाटन सडक स्तरोन्नति योजनालाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता गरे ।

म्याग्दी बहुमुखी क्याम्पसको गतिविधि समेटिएको पुस्तकको अध्यक्ष दाहालले विमोचन गरेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी र प्रमुख टीकाराम सापकोटाले समुदायद्वारा सञ्चालित म्याग्दी क्याम्पसको इतिहास, वर्तमान अवस्था र भावी योजनाका बारेमा जानकारी गराए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.