समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर भविष्यमाथि खेलवाड गरेको विद्यार्थीको आरोप

| 2022 Jun 03 | 08:35 am 1697

लमजुङ, जेठ २०ः लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ। नयाँ शैक्षिकसत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा पठनपाठनमा समस्या भएको छ।

मर्स्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययरत सोनिका गुरुङ विद्यालय जान थालेको दुई हप्ता भइसकेको छ। हालसम्म पाँच किताब किन्न पाए पनि चारवटा अझै नपाउँदा अध्ययनमा समस्या भएको उनले गुनासो गरे।

सोनिका जस्ता जिल्लाका हजारौँ विद्यार्थीको दुःखेसो उस्तै छ। करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठन प्रभावितपश्चात सुरु हुन लागेको नयाँ शैक्षिकसत्रको पढाइ पनि पाठ्यपुस्तक अभावले प्रभावित भएको छ। विद्यार्थी चिन्तित छन्। समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर भविष्यमाथि खेलवाड गरेको विद्यार्थीको आरोप छ।

पाठ्यपुस्तक अभावले शिक्षक शिक्षिकालाई समेत पिरोलेको छ। सरकारले पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने भनेको छ। बेँसीसहर नगरपालिका–७ स्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले भने, ‘पठनपाठन सुरु भएको यतिका समय हुँदासमेत किताब उपलब्ध नहुँदा समस्या भएको छ।’

बेँसीसहर–७ चण्डीडाँडास्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु थापा किताब उपलब्ध हुन कति समय लाग्छ भन्न सकिने अवस्था नभएको बताउँछन्। स्थानीय तह निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको पुस्तक पसल सञ्चाल बताउँछन्। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङका अनुसार विद्यालयले पुरानै किताबबाट पठनपाठन गराउँदै आएका छन्।

‘जतिसक्दो चाँडो किताब जिल्लामा उपलब्ध गराउनका लागि पहल गरेका छौँ’, उनले भने। जिल्लााम सामुदायिकतर्फ ३३६ र निजीतर्फ ३३ विद्यालय छन्। सामुदायिक विद्यालयमा झण्डै २६ हजार र निजीतर्फ नौ हजार विद्यार्थी अध्ययनरत छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.