सभामुखद्वारा भलिबल प्रतियोगिताको पुरस्कार वितरण

रिपोर्ट नेपाल | 2019 Jan 12 | 07:45 pm 2172

काठमाडौं,पुस २८ :  न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण सभामुख  कृष्णबहादुर महराले गरेका छन् । सभामुख  महराले खेलकूद क्षेत्र देशको स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र रहेको बताए ।

उनले भने ‘खेलकूद क्षेत्रले खेलाडीहरुको शारिरीक तन्दुरुस्तीको काम मात्रै गर्दैन, यसले समग्र राष्ट्रकै गौरव बढाइरहेको हुन्छ, ‘स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्नेदेखि देशको समृद्धिका लागि खेलकूद क्षेत्र निकै महत्वपूर्ण छ ।’

देशमा थुप्रै प्रतिभावान् खेलाडीहरु रहेको भन्दै सभामुख महराले राज्यका तर्फबाट खेलाडीहरुलाई उचित प्रोत्साहन गर्न नसकिएको बताए । ‘हाम्रो देशमा थुप्रै प्रतिभावान् खेलाडीहरु हुनुहुन्छ तर राज्यको तर्फबाट खेलकूद क्षेत्रमा जति लगानी गर्नुपर्ने हो त्यो भइरहेको छैन ।’ उनले यो धारणा व्यक्त गरे ।

आफू अहिले राज्यको नीति निर्माण तहमा रहेको उल्लेख गर्दै सभामुख महराले भने, ‘खेलकूद क्षेत्रको विकास गर्न ऐन कानूनहरु कस्ता खालका बनाउनुपर्छ र कहाँ कहाँ संशोधन गर्नुपर्छ, तपाईहरुले मलाई भन्नुहोस्, त्यसका लागि मैले मेरो तर्फबाट गर्ने पहलकदमी अघि बढाउँछु।’

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो तथा उत्कृष्ट खेलाडीहरुलाई सभामुख महराले ट्रफी, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरे ।
काठमाडौंको कलंकीस्थित न्यू डायमण्ड स्कुलमा तीन दिनसम्म चलेको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफले न्यू डायमण्ड कपको उपाधि हात पारेको छ भने दोस्रो स्थान न्यू डायमण्ड क्लवले हात प्राप्त गरेको छ । त्यस्तै नेपाल पुलिसले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

प्रतियोगितामा प्रथम पुरस्कारको राशी ३ लाख १ हजार, दोस्रो पुरस्कारको राशी २ लाख १ हजार, तेस्रो पुरस्कारको राशी १ लाख १ हजार र चौथो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.