सभामुखको टुंगो नलाग्दा बन्धक बन्दै संसद्

रिपोर्ट नेपाल | 2020 Jan 05 | 08:29 am 1800

काठमाडौं, पुस २०ः संघीय संसद्को पाँचौं अधिवेशन सुरु भएको १५ दिन बित्दा पनि प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेको छैन । दुईपटक सूचना टाँस गरी संसद् बैठक सारिएको छ ।

विभिन्न विधेयकहरू विचाराधीन भएको प्रतिनिधिसभा यसरी सुचारु नहुनको मुख्य कारण नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्नुलाई लिइएको छ ।

सत्तारूढ नेकपामा सभामुखमा कसलाई लैजाने भन्नेमा सहमति कायम हुन नसक्दा समस्या बल्झिदै जान थालेको हो ।

सुरुमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुबै जना सुभाष नेम्वाङलाई सभामुख बनाउने विषयमा सहमतिनजिक पुगेका थिए । सुरुमा नेम्वाङप्रति केही लचक देखिएका अध्यक्ष दाहाल पूर्वमाओवादी समूहको दबाबका कारण पछि हट्न बाध्य भएका थिए । जसका कारण सभामुख बनाउने नेकपाको प्रयास १५ दिनदेखि अनिर्णित हुँदै आएको छ ।

नेकपाले सभामुख आफूले नगुमाउनका लागि उपसभामुखको राजीनामा गराउने तयारी गरेको छ ।

उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले पनि पार्टीले निर्णय गरे आफूले राजीनामा दिन तयार रहेको बताउँदै आएकी छन् ।

पछिल्लो समय पटकपटक भएका भेटघाट र छलफलमा सहमतिको प्रयास भए पनि दुबै अध्यक्षले आआफ्नो अडान कायम राख्दा प्रतिनिधिसभा बैठक अनिश्चितजस्तो भएको छ ।

गत ४ पुसमा औपचारिकताका लागि प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो । त्यसपछि ११ पुसका लागि बोलाइएको बैठक सूचना टाँसेर १६ पुसमा बस्नेगरी स्थगित भएको थियो ।

निर्धारित कार्यसूचीअनुसार बस्ने प्रतिनिधिसभाको बैठकले पहिलो कार्यसूचीमा सभामुख चयनको प्रक्रिया राखेको थियो । तर, बैठक बोलाइएको अघिल्लो दिन अर्थात् १५ पुसमा नै ११ दिन थप गरी २७ पुसको लागि बैठक बोलाइएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.