सभामुख महरासँग नवनियुक्त साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेट

| 2019 Jan 29 | 08:00 pm 2236

काठमाडौं, माघ १५ : सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित साउदी अरेबियाका नवनियुक्त राजदूत मुसैद एस. अल मारवानीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत मारवानीले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा सभामुख महराले नेपाल–साउदी अरेबियाको कूटनीतिक सम्बन्ध चार दशकअघिदेखि नै रहेको भन्दै दुई देशबीचको सम्बन्ध निकै प्रगाढ रहेको बताए ।

साउदी अरेबियन राजदूतको रुपमा नेपाल आएका मारवानीलाई स्वागत गुर्दै सभामुख महराले राजदूतको रुपमा मारवानीको कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरे ।

नेपाल र साउदी अरेबिया दुई देशको कूटनीतिक तथा राजनीतिक सम्बन्ध अझैं प्रगाढ र बलियो बनाउन तपाईंको भूमिकाले विशेष महत्व राख्नेछ ।

नेपालको संसदीय परम्परा, संघीय संसदको संरचना, शासन पद्धतिलगायतको जानकारी दिँदै सभामुख महराले संघीय संसदको तर्फबाट छिट्टै नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन गर्ने तयारी भइरहेको बताए ।

हामीले संघीय संसदको तर्फबाट छिट्टै नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन गर्दैछौं । संसदीय मैत्री समूह गठनले दुई देशबीचको संसदीय अनुभव आदानप्रदानका साथै राजनीतिक सम्बन्ध बिस्तार गर्न सहयोग पु¥याउने विश्वास लिएको महराले जानकारी गराए ।

थुप्रै नेपालीहरु रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेको चर्चा गर्नुहुँदै सभामुख महराले नेपाली कामदारहरुको रोजगारीको अवसर जुटाइदिएकोमा साउदी अरेबिया सरकारलाई विशेष धन्यवाद व्यक्त गरे ।

नेपाली कामदारहरुले साउदीको विकास निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको भन्दै सभामुख महराले नेपाली कामदारहरुको भौतिक तथा पेशागत सुरक्षा एवं सेवा सुविधामा ध्यान दिन आग्रह गरे ।

सभामुखसँगको भेटका क्रममा नेपालका लागि साउदी अरेबियाका राजदूत मारवानीले साउदी अरेबिया र नेपालको सम्बन्ध घनिष्ठ रहेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा सम्बन्ध थप मजबुत हुनेमा विश्वास व्यक्त गरे । उनले आफ्नो कार्यकालमा साउदी–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन आफूले सकेको योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राजदूत मारवानीले साउदी अरेबियाको विकास निर्माणका काममा नेपाली कामदारहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै खुशी व्यक्त गरे ।
भेटवार्तामा संघीय संसद सचिवालयका महासचिव मनोहर भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सचिव भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.