सभापति देउवाले भनेजस्तै मेलमिलापमा जानुपर्छ : वामदेव

| 2018 Nov 04 | 07:39 am 1307

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता वामदेव गौतमले सरकारको चर्को आलोचना गरेका छन्।

उनले भने, ‘चुनाव घोषणापत्र बनाउने संयोजक म आफैं थिएँ। तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा त्यसको केही आएन। दुईतिहाइको बहुमतले कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन। नेपाली कांग्रेसका सभापति देउवाले भनेजस्तै मेलमिलापमै जानुपर्छ।’

आफू नेतृत्वको कार्यदलको रिपोर्ट सरकारले ग्रहण गर्न नसकेको भन्दै शनिबार गौतमले असन्तुष्टि पोखेका हुन्। चुनावअघि तत्कालीन एमाले र माओवादीले गौतमलाई नै संयुक्त चुनावी घोषणापत्र बनाउने जिम्मा दिएका थिए। पार्टी एकतापूर्व पार्टी एकता संयोजन समितिले सुशासन र विकासका प्राथमिकता सम्बन्धमा सुझाव दिन पनि नेता गौतमकै नेतृत्वमा कार्यदल बनाएको थियो। त्यही कार्यदलले चुनावी घोषणपत्र बनाएको थियो। विकास र सुशासनका खाका पनि तयार पारेको थियो।

गौतम मात्र होइन, नेकपामा सरकारको कार्यशैलीप्रति असन्तुष्टि चुलिँदो छ। केही समयअघि वरिष्ठ नेता माधव नेपालले संसद्मै उभिएर सरकारको आलोचना गरे। त्यसयता जिम्मेवार नेताहरूबाटै सरकारप्रति असन्तुष्टि पोख्‍ने क्रम बढ्दो छ।

सचिवालयभित्रै वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सरकारको गतिमा सन्तुष्ट देखिँदैनन्। अध्यक्ष दाहाल भने सार्वजनिक रूपमा खुलेरै सरकारको पक्षमा बोलिरहेका छन्। शनिबार उनले भने, ‘अब सरकारले उडान नै भर्नेवाला छ। यसमा विश्वस्त हुनुस्।’

नेताहरूकै यस्ता विरोधाभासपूर्ण अभिव्यक्ति आइरहँदा पार्टी कार्यकर्ता भने अन्यौलमा देखिएका छन्। पार्टी नेतृत्वको सरकारका पक्षमा नेता–कार्यकर्ता पनि लाग्न सकिरहेका छैनन्। प्रधानमन्त्रीले त्यही महसुस गरेर सरकारको प्रतिरक्षा गर्न नेता–कार्यकर्तालाई बेलाबेला निर्देशन दिइरहेका छन्। एकपटक त उनले कार्यकर्तालाई अरिंगालझैं आक्रामक हुन आह्वान गर्दा आलोचित बने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.