सबै विद्यालयमा पुग्यो नयाँ पाठ्यपुस्तक

| 2023 May 01 | 08:30 am 885

काठमाडौं, बैशाख १८ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष सबै जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । यदि, कतै अभाव भए नजिकको बिक्रेताकहाँ सम्पर्क गर्न आग्रह गर्दै मन्त्रालयले भनेको छ –‘दुई दिनभित्रै बिक्रेताले विद्यालयमै पाठ्यपुस्तक पुर्याउनेछ ।’

जनक शिक्षा सामग्री केन्द्र, निजी प्रकाशक र बिक्रेताले तोकेकै समयमा पाठ्यपुस्तक छपाइ गरेका कारण वैशाख दोस्रो साताभित्र सबै जिल्लामा पाठ्यपुस्तक पुगेको हो ।

चालु शैक्षिक सत्रका लागि निजी प्रकाशकले कक्षा १ देखि ५ सम्म २३ लाख ९२ हजार ६ सय ३६ र कक्षा ६ देखि १० सम्म २० लाख ४६ हजार ४ सय ५० विद्यार्थीका लागि आवश्यक संख्यामा पाठ्यपुस्तक छपाइ गरी वितरण गर्ने लक्ष्य राखेको थियो ।

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले चार महिनाको अवधिमा कक्षा ६ देखि १० सम्मका लागि १ करोड ५५ लाख पाठ्यपुस्तक छपाइ र बिक्री गरेको जानकारी दिए । उनले केन्द्रको सात प्रदेश र केन्द्रीय कार्यालयमा आवश्यक मात्रामा पाठ्यपुस्तक रहेको दाबी गरे । केन्द्रले चैत १५ देखि हिमाली, दुर्गम र सुगम जिल्लामा बिक्री वितरण शुरू गरेको थियो । मन्त्रालयका सचिव एवं जनक किक्षा सामग्रीका अध्यक्ष रामकृष्ण सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको निरन्तर निर्देशनको कारण यो वर्ष सबैको सहयोगले समयमै सबै विद्यालयमा पाठ्यपुस्तक पुगेको बताए । उनले भने– ‘हामीले भर्ना अभियान शुरू गरेसँगै सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याएका छौं । विगत वर्षमा विभिन्न कारणले अभाव भएको थियो, यो वर्ष सहज रूपमा पुस्तक उपलब्ध गराउन जनक शिक्षा सामग्री केन्द्र, शिक्षा तथा मानवस्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रको महत्वपूर्ण देन रहेको छ ।’

जनक शिक्षाका प्रबन्ध सञ्चालक झाले यो वर्ष ५ वटा रङ्गीन मेसिन खरिद गरी दैनिक करिब १ लाख ५० हजार थान पाठ्यपुस्तक तयार गरेको कारण समस्या नभएको जिकिर गर्दै उनले आगामी शैक्षिक सत्रमा मन्त्रालयले जनक शिक्षालाई १ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छपाइ र बिक्री गर्न जिम्मा दिने विश्वास व्यक्त गरे ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चालु वर्ष ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ नारा तय गरी भर्ना अभियान शुरू गरेको थियो । वैशाख २ गतेबाट शुरू भएको विद्यार्थी भर्ना अभियान कार्यक्रममा भर्नासँगै पुस्तक वितरण गरिएको थियो ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले जनक शिक्षालाई समयमै प्रिन्ट रेडी कपी (पीआरसी) उपलब्ध गराएको कारण पाठ्यपुस्तक अभाव हुन नपाएको दाबी गरे । आठराई, ओयसिसलगायत निजी प्रकाशकले पुरानो किताब बिक्री गरेको विषयमा बोल्दै महानिर्देशक अर्यालले भने– ‘ती प्रकाशकविरुद्ध कारबाही गर्ने प्रक्रिया अघि बढाएका छौं । ती प्रकाशनले ४, ७ र ५ को अंग्रेजी, गणित र नेपाली विषयको पाठ्यपुस्तकमा नयाँ कभर हालेर पुरानै पाठ्यक्रमको पुस्तक बिक्री गरेका थिए ।’

शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले यो वर्ष करिब १ लाख ५० हजार नयाँ बालबालिकालाई विद्यालय ल्याउन भर्ना अभियान शुरू गरेको जानकारी दिए । अभियानसँग पाठ्यपुस्तक उपलब्ध गराएको कारण विद्यार्थीहरू खुसी भएको जिकिर गर्दै उनले भर्ना अभियान निरन्तर प्रक्रिया भएको बताए ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले यो वर्ष भर्ना अभियान सफल भएको र सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगेको भन्दै खुशी व्यक्त गरे । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.