-
कृष्ण प्रसाद सापकोटा
काठमाडौं, वैशाख २१: केपी शर्मा ओली नेतृत्वको सरकारको काम कारबाही प्रति जनता सन्तुष्ट छैनन् । सरकार प्रति जनता असन्तुष्ट हुँदा त्यसको लाभ पाउने भनेको प्रमुख प्रतिपक्षले हो । राजनीतिशास्त्रको सामान्य नियम यो हो कि –‘सरकारको अलोकप्रियताको पारो जति माथि वढ्दै जान्छ प्रमुख प्रतिपक्षको लोकप्रियताको पारो पनि त्यसरी नै उकालो लाग्छ ।’ तर यतिबेला नेपालमा राजनीतिशास्त्रको यो सामान्य नियम समेत अपवाद बनेको छ । सरकारको लोकप्रियताको पारो जुन अनुपातमा तल झरेको छ, त्यही अनुपातमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पारो पनि तल झरिरहेको छ । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रुपमा निभाउन सकेन भन्ने ठहर राजनीतिक विश्लेषकहरुले गरेका छन् । जनताको भावना पनि यही रहेको छ ।
शेरबहादुर देउवा प्रधानमन्त्री पदबाट हटेको १ साता पछि नेपाली कांग्रेस संसदीयदलको निर्वाचन भयो । प्रतिस्पर्धी प्रकाशमान सिंहलाई भारी मत अन्तरले पछाडी पार्दै देउवा संसदीयदलको नेता पदमा निर्वाचित भए । उनी निर्वाचित हुनासाथ मिडियाले प्रश्न गरेका थिए –‘सरकारको हनिमुन (सय दिन) को अवधि भरी नेपाली कांग्रेसले कस्तो भूमिका निर्वाह गर्छ ?’ देउवाले उत्तर दिए–‘ सामान्य अवस्थामा १ सय दिनको अवधिलाई सरकारको हनिमुन पिरियड मानिन्छ, यस अवधिमा प्रमुख प्रतिपक्षले धैर्य गरेर बस्ने प्रचलन छ, तर अहिले मुलुकको परिस्थिति सामान्य छैन, १ सय दिन पर्खने अवस्थामा नेपाली कांग्रेस छैन ।’ सरकारका गलत काम कारबाहीलाई लिएर तत्कालै सडक र सदन तताउने उद्घोष प्रमुख प्रतिपक्षीदलका नेता देउवाले गरेका थिए ।
देउवाको यो उद्घोष पछि अब नेपालको राजनीतिले काँचुली फेर्ने अनुमान धेरैले गरेका थिए । सत्ताको लामो अनुभाव बटुलेको र सरकारमा रहनेहरुको कमीकमजोरी रौं रौं थाहा पाएको नेपाली कांग्रेसले आक्रामक रुपमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह ग¥यो भने सरकारले गलत काम गर्नै नसक्ने , सरकारको काम गराईको गति वढ्ने अपेक्षा गरिएको थियो । तर यो अवधिमा सरकारको काम गराईको गति अत्यन्त सुस्त रह्यो, एक पछि अर्का गलत निर्णयहरु हुँदै गए, राज्यका सारा संयन्त्र प्रधानमन्त्री ओलीले आफ्नो हातमा लिए, तर अनुगमनका लागि प्रधानमन्त्री ओलीसँग समय नहुँदा ती संयन्त्रहरु पंगु भए । अझै पनि थप संयन्त्रहरु आफ्नो हातमा लिने चेष्टा प्रधानमन्त्री ओलीले गरिरहेका छन् । तर यस्तो अवस्थामा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उपस्थिति टर्च बालेर खोज्नु पर्ने अवस्थामा छ । प्रधानमन्त्री ओलीले एक सार्वजनिक समारोहमा भनेका थिए– ‘खै कहाँ छ कांग्रेस ?’ नभन्दै नेपाली कांग्रेसको स्थिति अहिले यस्तै बनेको छ ।
जनताको साथ र समर्थन घटेका कारण कांग्रेसको भूमिका कमजोर भएको हो कि ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने पनि त्यस्तो अवस्था देखिँदैन । चुनावको मत परिणमलाई हेर्ने हो भने कांग्रेस प्रतिको जनसमर्थन घटेको देखिँदैन । २०६५ को संविधानसभा निर्वाचनमा २३ प्रतिशत मत प्राप्त गरेको कांग्रेसले २०७० सालको संविधानसभा निर्वाचनमा ३० प्रतिशत मत प्राप्त गर्यो । गत निर्वाचनमा ३४ प्रतिशत मत प्राप्त गर्यो । तर उल्लेखनीय रुपमा मत बढ्दै गर्दा पनि भूमिकाका हिसावले कांग्रेस दयानीय देखिनु भनेको नेतृत्वको कमजोरी हो ।
सैद्धान्तिक रुपमा अन्योल भएकोले कांग्रेसको भूमिका कमजोर भएको हो कि ? भनेर विश्लेषण गर्ने हो भने पनि यर्थाथता त्यस्तो छैन । अहिले मुलुकमा जुन प्रकारको शासन व्यवस्था छ त्यो नेपाली कांग्रेसको स्थापनाकाल देखिकै लक्ष हो । नेपाली कांग्रेसको त्यही लक्ष्यमा मुलुकका सबै पार्टीहरु आइपुगेका छन् । अर्थात नेपाली कांग्रेसले स्थापनाकाल देखि जुन सिद्धान्तका लागि लडाँइ गरेको थियो त्यो सिद्धान्त यतिबेला मुलुकका सबै पार्टीहरु आएका छन् । मुलुकमा नेपाली कांग्रेसको राजनीतिक सिद्धान्त तथा आर्थिक सिद्धान्त लागु हुनु तर नेपाली कांग्रेसको भुमिका कमजोर हुनु भनेको नेतृत्वकै कमजोरी हो ।
मुलुकको शासन संचालनको बागडोर पाएको बेला अथवा राजनीतिक नेतृत्व गर्ने अवसर पाएको बेला चुकेका कारण अहिले नेपाली कांग्रेसको भूमिका कमजोर भएको हो कि ? भनेर विश्लेषण गर्ने हो भने पनि यर्थाथता त्यस्तो देखिँदैन । विगत ७५ वर्षको इतिहास हेर्ने हो भने पछिल्लो तीन वर्ष बाहेक नेपाली कांग्रेस आफ्नो जिम्मेवारी तथा भूमिकामा कहिल्यै असफल भएको देखिँदैन । देउवा वाहेक नेपाली कांग्रेसका हरेक प्रधानमन्त्री तथा हरेक सभापतिहरुले नयाँ इतिहास रचेका छन् । मुलुकमा युगान्तकारी परिवर्तनको नेतृत्व गरेका छन् । बीपी काइरालाले के गरे ? भन्ने कुरा यहाँ उल्लेख गरिरहनु पर्दैन । सुवर्णशमशेर राणाले मुलुकबाट जमिनदारी प्रथा उन्मुलन गरे, समाजवादी ढाँचाको आर्थिक सिद्धान्त दिए । कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पञ्चायती व्यवस्था उन्मुलन भयो । एक वर्ष भित्रै नयाँ संविधान ल्याएर आम निर्वाचन गरे । गिरिजाप्रसाद कोइरालाको पालामा गणतन्त्र आयो, संविधानसभाको निर्वाचन सम्पन्न भयो । सुशील कोइरालाको पालामा संविधानसभाद्धारा नयाँ संविधान निर्माण भयो, जुन काम सम्पन्न गर्न कम्युनिष्ट नेतृत्वका चार–चार वटा सरकार असफल भएका थिए ।
सफलता नै सफलताको विरासत बोकेको नेपाली कांग्रेस यतिबेला पंगु र भुमिका विहीन हुनुमा नेतृत्वलाई बाहेक अरुलाई दोष दिन मिल्दैन । त्यसैले देउवा तथा केन्द्रीय पदाधिकारी माथि केही प्रश्नहरु उठेका छन् । सभापति देउवा तथा केन्द्रीय समितिमा रहेका जिम्मेवार पदाधिकारीले की त यी प्रश्नको उत्तर चित्त बुझ्दो ढंगले दिनु पर्छ कि नेतृत्व छोड्नु पर्छ । अन्यथा नेपाली कांग्रेस उँभो लाग्ने लक्षण देखिँदैन ।