सप्तरीमा दुर्घटना: एक वर्षमा ७९ जनाको मृत्यु, ५३३ घाइते

रिपोर्ट नेपाल | 2018 Aug 14 | 09:20 am 3768

राजविराज, साउन २९: सप्तरीमा सवारी दुर्घटना परी एक वर्षमा ७९ जनाले ज्यान गुमाएको छ भने ५३३ जना घाइते भएका छन्।

आर्थिक वर्ष २०७४-७५ मा जिल्लामा ३२० सवारी साधन दुर्घटनामा परेका थिए। दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका थिए भने १८९ जना गम्भीर तथा ३४४ जना समान्य घाइते भएका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार गत आवमा ३७ ट्रक, ५३ बस, ५९ कार÷जीप, २३ ट्याक्टर, पाँच टेम्पो र २४४ मोटरसाइकल दुर्घटना भएको थियो ।

सवारी साधनको अत्यधिक चाप, पूर्व-पश्चिम राजमार्ग साँघुरो हुनु, वैकल्पिक सडक नहुनु, तीव्र गतिमा सवारी साधन हाँक्नु, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनुलगायत कारणले दुर्घटना अत्यधिक भएको श्रेष्ठले बताए।

गत आवमा नियम उल्लङ्घन गरी सवारी साधन हाँक्ने ५३ हजार ६२४ चालकलाई कारबाही गरिएको थियो। कारबाहीबाट तीन करोड १४ लाख ५८ हजार राजश्व सङ्कलन भएको छ।

आव २०७२-७३ मा २८३ सवारी साधन दुर्घटना हुँदा ५१ जना तथा आव २०७१-७२ मा १७८ सवारी साधन दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.