सप्तकोसी नदीको खयर टापुबाट सशस्त्र प्रहरीदले ३ सय ५० किलो गाँजा बरामद

रिपोर्ट नेपाल | 2022 Jun 01 | 05:28 pm 1389

सुनसरी, जेठ १८ः जिल्लाको बराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदीको खयर टापुबाट सशस्त्र प्रहरीले ३ सय ५० किलोग्राम गाँजा बरामद गरेको छ।

सप्तकोसी नदीहुँदै तस्करी गरेर ल्याइएको लागुऔषध गाँजा ११ वटा बोराभित्र प्याक गरी बालुवाले छोपेर राखेको अवस्थामा बुधबार बरामद गरिएको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम होमागाईंले जानकारी दिए। उनका अनुसार पूर्वी पहाडी जिल्लामा अवैध खेती गरेर उत्पादन गरिएको गाँजा जलमार्ग हुँदै भारततिर कटाउन खोजिएको हुनसक्ने आशंका छ।

नदीको एउटा भंगालो पारिपट्टि तस्करीको गाँजा लुकाएर राखिएको विशेष सूचना बिहान ६ बजेतिर आएको एसपी होमागाईंले बताए। त्यसलगत्तै गाँजा नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले विशेष टोली परिचालन गरेका थिए। सशस्त्र प्रहरी निरीक्षक निगम राई नेतृत्वको टोलीले बिहान ९:४० बजेतिर नदीको भंगालोबीचको टापुमा गाँजा फेला पारेको हो।

उक्त गाँजा नदीको भंगालो कटाएर ल्याउनका लागि पौडीबाज सशस्त्र प्रहरी खटाइएको थियो। बरामद गरिएको गाँजा सशस्त्र प्रहरीका अर्का निरीक्षक भूपेन्द्र बस्नेतको नेतृत्वमा डुंगासहित गएको ११ जनाको विपद् उद्धार टोलीले जोखिम मोलेर नदीको भंगालो कटाउँदै ल्याएको हो।

एसपी होमागाईंका अनुसार गाँजा तस्करीमा संलग्नको पहिचान भएको छैन। ‘बालुवाले पुरेर राखेको अवस्थामा लागुऔषध गाँजा बरामद भयो। तर तस्करीमा संलग्नहरु कोही पनि भेटिएनन्,’ उनले भने, ‘खोजी तीव्र पारेर उनीहरुको पहिचानको प्रयास भइरहेको छ। गाँजा भने आवश्यक अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.