सत्तारुढ नेकपालार्इ वैधानिकता, ऋषि कट्टेलको निवेदन खारेज

| 2018 Oct 26 | 04:31 pm 1911

काठमाडौं, कात्तिक ९ :  निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलार्इ वैधानिकता दिएको छ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि गठन भई आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग छलफल भएर निष्कर्ष ननिस्केपछि आयोगले नै निर्णय गरेको हो।

दुवै पक्षले नेकपाको नाममा दाबी कायम राखेपछि आयोगले मिलेर आउन आज शुक्रबार दिउँसो दुई घण्टाको समय दिएको थियो। उक्त अवधिमा कुनै सहमति हुननसकेपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दालको इजलासले शुक्रबार कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको नेकपाको प्रवक्ता दीपक सुवेदीले जानकारी दिए।

प्रवक्ता सुवेदीका अनुसार कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को अलग–अलग पहिचान देखिने हुँदा निवेदकको निवेदन खारेज हुने फैसला गरिएको हो।

सत्तारुढ नेकपाले आफूहरुको नाम जुधाएको भन्दै कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा उजुरी दिएको थियो।

यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट मुक्ति प्रधान र नेकपाका तर्फबाट अध्यक्ष कट्टेलले बहस गरी आफ्नो पक्षले उक्त नाम पाउनुपर्ने दाबी प्रस्तुत गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.