काठमाडौं, साउन १८ः नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । केही दिनयता सयदेखि दुई सय सम्मको सङ्ख्यामा प्रतिदिन देखिएको कोरोना सङ्क्रमण शनिबार बढेर तीन सयभन्दा माथि पुगेको छ । शनिबार ३ सय १५ जना सङ्क्रमित भएका छन् । सतर्क नहुने प्रवृत्तिले सङ्क्रमण बढ्न थालेको विज्ञको भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले स्वास्थ्य सतर्कता अवलम्बन नगरेका कारण कोरोना सङ्क्रमण बढ्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । उजका अनुसार मास्कको प्रयोग नगर्ने प्रवृत्तिले पनि कोरोना बढ्ने हुँदा सतर्क हुन जरुरी छ ।
शनिबार इलाममा नेपाल प्रहरीमा देखिएको कोरोना पनि मास्क नलगाएकाले सङ्क्रमण सरेको जानकारी गौतमले दिए । सिंहदरबारभित्र पनि मास्क नलगाउने गरिएको भन्दै उनले कतिपयले भीडभाडमा कुराकानी गर्दा मास्क खोलेर गर्ने गरेकाले जोखिम बढाएको बताए। गोरखापत्र दैनिकबाट