सडकदेखि सदनसम्म कडा आन्दोलन गर्ने राजपाको चेतावनी

रिपोर्ट नेपाल | 2019 Jul 31 | 04:27 pm 1362

काठमाडौ, १५ साउन : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले पार्टीले सडकदेखि सदनसम्म आन्दोलनको तयारीमा लागेका बताएका छन् ।

सरकारले आन्दोलन बाहेक विकल्प बाँकी नराखेको बताउँदै उनले अब बाध्यकारी कदम चाल्ने बताए । राजपा नेपाल अध्यक्ष मण्डलको बैठक पश्चात बवरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सडकदेखि सदनसम्म कडा आन्दोलन गरिने जानकारी दिए ।

सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरीत काम गरिरहेको आरोप लगाउँदै उनले त्यसका यसविरुद्वमा राजपाले चाँडै कडा आन्दोलनको समेत घोषणा गर्ने चेतावनी दिए । अध्यक्ष मण्डलको जारी बैठकमा महाधिवेशनको स्थान टुंगो लगाउने, समाजवादी पार्टीसँग एकता, महाधिवेशनको तयारी, शक्ति सञ्चय र प्रदेश–२ मा राजपाका मन्त्रीहरुको काम कारबाहीको समेत समीक्षा हुने बताइएको छ ।

पार्टीको महाधिबेशन तोकिएकै मितिमा गर्नुपर्ने सुझाव नेतृत्वलाई नेताहरुले दिदै आएका छन् । २८, २९ र ३० कातिकमा एकता महाधिबेशन गर्ने निर्णय पार्टीले यसअघि नै गरिसकेको छ । राजपा नेपालको महाधिबेशन पटक–पटक तोकिए पनि स्थगित हुँदै आएको छ । ७ बैशाख २०७४ मा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका बिभिन्न ६ मधेसवादी दलका बीचमा एकीकरण भई राजपा नेपालको घोषणा भएको हो ।

ती ६ वटै दलका संयोजकहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा क्रमशः अध्यक्ष मण्डलको संयोजक हुँदै आएका छन् । तर तोकिएको मितिमा महाधिबेशन नगरी स्थगित हुँदै आएको छ ।

पार्टी एकीकरण घोषणासभामा शीर्ष नेताहरुले एक बर्षभित्रैमा एकता महाधिबेशन गर्ने बताएका थिए । तर, लामो समय बितिसक्दा समेत महाधिबेशन नगरी पार्टीमा ६ जना नेताको सिण्डिकेट रहेको आरोप पार्टीकै नेताले लगाउँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.