सचिवालय बैठकमा प्रचण्डमाथि ओलीका गम्भिर प्रश्न

| 2020 Nov 28 | 05:50 pm 2533

काठमाडौं, मंसिर १३ : विगत लामो समयदेखि राम्रैसँग जुहारी खेल्दै आएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिवार सचिवालय बैठकमा पार्टी विवाद वार पारको लडाइँमा पुगेको हो ? भन्दै प्रश्न तेर्साएका छन् । ३८ पृष्ठको लामो जवाफी पत्रमा अध्यक्ष ओलीले बुँदा-बुँदा लेखेका छन् । उनको प्रतिवेदनमा कुल ५३ बुँदामा कार्यकारी अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’लाई जवाफ दिदै कतिपय बुँदामा अत्यन्तै चर्का प्रश्न गरिएको छ ।

कमरेड ‘प्रचण्ड’, सुरुमै तपाईँलाई मेरो प्रश्न छ – पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? तपार्इँले रोजेको बाटो वाद (प्रतिवाद- संवादको हो कि वाद-प्रतिवाद र विग्रहको ? एकता-छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता -विग्रह र विघटनको बाटोमा ?  पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरुको ? उनले चौंथो नम्बर बुदामा प्रश्न गर्दै भनेका छन् – विवादको स्वरुपले समाधानको विधि तय गर्छ । वस्तुतः तपाईंले आफ्ना एकतर्फी लिखतमार्फत् पार्टीभित्रका असहमतिहरुलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदल्नुभएको छ र कम्युनिष्ट आन्दोलनलाई गंभीर सङ्कटमा धकेल्नु भएको छ । समयले यसको उचित हिसाब गर्ने नै छ ।

अध्यक्ष ओलीले चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छोडेर किन नेतृत्वमा चलखेल गरेको भन्दै प्रश्नसमेत गरेका छन् । उनले महाधिवेशनमा आउने प्रतिनिधिको विवेकमाथि प्रचण्डलाई विश्वास नभएको भन्दै प्रश्न गरेका हुन् ।

ओलीले चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका नेताले लाखौँ कार्यकार्ताको नेतृत्व गर्ने नैतिकता बाँकी नरहेको भन्दै प्रश्नसमेत गरेका छन् ।

मेरो मनमा एउटा गम्भीर प्रश्न छन्– चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ? के कमरेडहरुलाई महाधिवेशनमा आउने प्रतिनिधिहरुको विवेकमाथि विश्वास छैन ? दुई वर्षपछि आम निर्वाचन हुन्छ । मेरो विश्वास छ– नेकपाको विजय यात्रा जारी नै रहने छ । त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ । के कमरेडहरुमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो ? होइन भने, फेरि किन सधैभरि सरकार परिवर्तनको दौडधुप ? चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौं भने हामीसँग लाखौं कार्यकर्ताहरुको नेतृत्व गर्ने नैतिकता कहाँ बाँकी     रहन्छ ? उनले थप सोधेका छन् ।

(अध्यक्ष केपि शर्मा ओलीको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको जवाफ जस्ताको तस्तै हेर्न  तल दिइएको लिंकमा क्लिक गर्नुहोला)

kp-oli-speech

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.