सङ्ग्रहालयमा बढ्यो चहलपहल

रिपोर्ट नेपाल | 2022 Dec 26 | 07:36 am 2489

पाँचथर, पुस ११ः लिम्बुवानका अन्तिम राजा हिलिहाङले राज्य गरेको ऐतिहासिक तथा पुरातात्त्विक महत्वको पाँचथरस्थित हस्तपुर गढीमा रहेको दरबार परिसरमा सङ्ग्रहालय, गेट र सालिक स्थापना भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ।

हिलिहाङ–४ र याङवरक–६ को सङ्गमस्थलमा अवस्थित हिलिहाङ दरबार परिसरमा स्थानीय सरकारको पहलमा आकर्षक सङ्ग्रहालय निर्माण भएसँगै यस क्षेत्रमा चहलपहल बढेको हो। पुरातात्त्विक महत्वको यो दरबार क्षेत्रको जीर्णोद्धार र संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले हिलिहाङ गाउँपालिकाले दुई वर्षअघि  एक करोड २६ लाख रुपियाँ लागतमा प्यागोडा शैलीको सङ्ग्रहालय निर्माण गरेको थियो।

निर्माण कार्यले पूर्णता पाएसँगै सङ्ग्रहालयमा हिलिहाङले तत्कालीन शाह वंशका सेनासँग युद्व लड्दा प्रयोग गरेका ढाल, तरबार, खुँडा, खुकुरी, निसान तथा युद्धपश्चात् भएको सम्झौताका दस्तावेज राख्ने तयारी भइरहेको छ। हिलिहाङ फाउन्डेसनले प्रवेशद्वार र दरबार परिसरमा दुईवटा गेट र सालिक निर्माण गरेको छ। भने गाउँपालिकाको पूर्वाधार लागत साझेदारी कार्यक्रमअन्तर्गत दरबार निर्माणको काम पनि अगाडि बढाएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत विक्रम लिम्बूले जानकारी दिए।

एकान्त स्थल र गुरॉसे जङ्गलभित्र रहेको हिलिहाङ दरबार परिसरमा सङ्ग्रहालय, सालिक र प्रवेशद्वारले पूर्णता पाउनुका साथै दरबारलगायतका संरचना बन्न थालेपछि आन्तरिक पर्यटकको चाप बढेको स्थानीय टेकराज ज्ञानु कटुवाल बताउछन्।

“आज सार्वजनिक बिदाका दिन दुईदेखि तीन सय र अन्य दिन सयको हाराहारीमा मान्छे आइपुग्छन् जबकि यहाँ पहिले एक्लै हिँड्न पनि डराउनुपर्ने अवस्था थियो,” उनले भने। दरबार र सङ्ग्रहालय क्षेत्रमा मान्छेको चहलपहल बढेसँगै होटल र चिया पसलजस्ता व्यवसाय सञ्चालनमा आउन थालेको उनको भनाइ छ।

हिलिहाङ लिम्बुवानका अन्तिम राजा थिए। उनले यस क्षेत्रमा विक्रम संवत १८१४ देखि १८३१ सम्म राज्य गरेको इतिहास छ। नेपाल राज्य एकीकरणका क्रममा शाह वंशसँग १७ पल्टसम्म युद्ध लड्दा पनि जितहार नभएपछि सम्झौता भएको इतिहास छ।

उनले पृथ्वीनारायण शाहसँग नेपाल राज्य एकीकरणका समयमा युद्ध गर्दा प्रयोग गरेका हतियार र युद्धकालीन सामग्री राख्न हिलिहाङ गाउँपालिकाले एक करोड २६ लाख रुपियाँको लागतमा प्यागोडा शैलीको सङ्ग्रहालय निर्माण गरेको हो।

दरबार भने एक करोड ७० लाख लागतमा निर्माण भइरहेको छ। दरबार परिसरमा युद्धकालीन हातहतियारसँगै फौज लुक्ने बङ्कर, तत्कालीन अवस्थामा र चीनबाट दरबार बनाउन ल्याइएका इँटाजस्ता पुरातात्विक वस्तु छन। ती वस्तु जोगाइराख्नुका साथै दरबार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले गुरुयोजना अगाडि बढाएको अध्यक्ष समरबहादुर अधिकारी बताउछन्।  गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.