सगरमाथा सफाइ गर्दा भेटियो चार शव

रिपोर्ट नेपाल | 2019 Apr 28 | 06:58 pm 1988

काठमाठौं, वैशाख १५ : सगरमाथा सफाइ अभियानका क्रममा अहिलेसम्म चार वटा शव फेला परेको छ । सफाइ अभियानका क्रममा सगरमाथा आधार शिविर क्षेत्रमा ती शव भेटिएको जनाइएको छ । अहिले सरकारी अग्रसरतामा पहिलोपल्ट विश्वकै अग्लो शिखर सगरमाथाको सफाइ चलिरहेको छ । सफाइ अभियानमा १२ जना अनुभवी शेर्पा सहभागी छन् ।

पर्यटन विभागले आज पत्रकार सम्नेलन आयोजना गर्दै सफाइ अभियानमा १२ जना शेर्पाले फोहोर संकलन गरिरहेको जानकारी दिएको छ । सगरमाथा क्षेत्रको सफाइ र उद्धारमा संलग्न भएका अनुभवी १२ जना शेर्पाहरुले बेस क्याम्पदेखि साउथकोलसम्मको फोहोर संकलन गरिरहेको विभागले जानकारी गराएको छ ।

पर्यटन विभागका अनुसार क्याम्प २ मा ८ जना शेर्पाहरु सरसफाइमा सक्रिय छन् भने तीमध्ये तीन जना तलमाथि गर्ने र साउथकोलमा बसी फोहोर संकलन गर्ने योजनाका साथ १२ जना शेर्पा परिचालित छन् । उनीहरुले फोहोरदेखि मानिसको शव समेत संकलनमा सक्रिय छन् ।

अभियानबाट लुक्ला क्षेत्रदेखि फोहोर संकलनको शुरुवात गरिएको हो । सफाइ अभियानअन्तर्गत बेस क्याम्प र वरपरबाट करीब ५ हजार किलो, साउथ कोलबाट २ हजार किलो, क्याम्प २ र ३ बाट करिब तीन हजार गरी १० हजार किलो फोहोर संकलन गरिने लक्ष्य राखिएको छ ।

सगरमाथाबाट संकलित फोहोरलाई जेठ १५ गते सगरमाथा दिवसको अवसरमा नाम्चेमा प्रदर्शनी गरी समापन गरिने बताइएको छ । त्यस्तै कानुनी रुपमा रिसाइकल गर्न मिल्ने फोहोरलाई काठमाडौं ल्याएर जेठ २२ गते विश्व वातावरण दिवसको दिन काठमाडौंमा प्रदर्शनी गरी रिसाइक्लिङ गरिने छ ।

हालसम्म ३ हजार किलो फोहोर संकलन गरिएको छ । संकलित फोहोरमध्ये १ हजार किलो फोहोर काठमाडौं ल्याइएको छ भने २ हजार फोहोर ओखलढुंगामा राख्ने तयारी भएको छ । नेपाली सेनाको एम आई १७ हेलिकोप्टरले सगरमाथा क्षेत्रबाट उक्त फोहोर उठाएको हो ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रुपमा सगरमाथा सफाइ अभियान सञ्चालन गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.