सखी-थारु कम्लहरी केटीको संघर्षको कथा

रिपोर्ट नेपाल | 2018 Oct 06 | 05:15 pm 3814

काठमाडौं- गजल र कथा लेखिएका रामलाल जोशीले बजारमा ऐना ल्याएपछि एकदमै चर्चा पाए र अन्तत: उक्त पुस्तकले मदन पुरस्कार प्राप्त गर्न सफल भयो। २०५७ सालमा पहिलो कृति ‘हत्केलामा अकाश’ गजल संग्रह प्रकाशित गरेका जोशीको दोस्रो कृति बन्यो ऐना। सुदूरपश्चिमको जनजीवन र संस्कृतिलाई चित्रण गरिएको ऐनाले जोशीलाई परिचित लेखकका रुपमा समेत स्थापित गराइदियो।

तीनै लेखक जोशीको अर्को नयाँ कृति ‘सखी’ उपन्यास आज कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमकाबीच विमोचन भएको छ।

एक थारु कम्लारी केटीको संघर्षको गाथाका साथै सभ्य, संघर्षशील जीवन बाँचीरहेको सिंगो थारु समूदायका जीवनको चित्रण सखी भएको लेखक जोशीले बताए।

उनले भने, ‘उपन्यासमा थारुहरुको यथार्थलाई प्रस्तुत गरेको छु। यही यथार्थलाई प्रस्तुत गरेका कारण पाठकले मेरो अघिल्लो कृति पनि मन पराएका हुन्। मैले ‘सखी’ लेख्ने बेला पनि त्यहाँको समाजका पुगेर, अनुसन्धान गरेरै लेखेको छु। त्यसकारण त्यहाँको यथार्थ जनजीवन मेरो उपन्यासमा आएका छ।’

पूर्वदेखि पश्चिमसम्मा ठूलो मात्रामा रहेको एक थारु समूदाय जसको अहिलेसम्म विस्तृत खोजी हुन सकेको छ‌ैन। आफू रामलाल जोशीभन्दा पनि रामलाल चौधरी भएर उपन्यास लेखेको बताए।

उनले भने, ‘नलेखिएको र नउघ्रेको पाटोलाई मैले उघार्ने प्रयास गरेको छु। नेपालका धेरै जातजाति छन्, सीमान्तकृत वर्ग छन् । थारू जाति पनि हेपिएको अवस्थामा रहेको जाति हो । उसले संघर्षको इतिहास पार गरेको छ । त्यसकारणले त्यो जातिको बारेमा सकारात्मक सन्देश जाओस् । थारू जातिको कला, संस्कृतिको बारेमा पनि खोजी होस् भन्ने मेरो उद्देश्य हो।’

यसका स्थानीय सुन्दर विम्व प्रयोग गरिएको सखीमा भाषाको पक्ष बलियो भएपनि केही लैंगिक विषयमा चिप्लिएको समालोचनाकारहरुले टिप्पणी गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.