सक्षम कांग्रेस बनाउन कार्यकर्ताको अनुहारमा देखिने विधान कस्तो हुनुपर्छ ?

| 2018 Sep 26 | 11:35 am 2020

काठमाडौं, असोज १०: नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सबल र सक्षम काँग्रेसका लागि कार्यकर्ताको अनुहार देखिने विधान हुनुपर्ने सुझाव व्यक्त गरेका छन्। नेपाली कांग्रेस अहिले संघीय संरचना बमोजिम पार्टी संरचनाका लागि विधान निर्माण प्रकृयामा भएको बेला युवा नेता भण्डारीले यस्तो सुझाव दिएका हुन्।

विधानको प्रारम्भिक मस्यौदा तयार पारिसकेको छ भने संशोधनका लागि सुझाव संकलन गरिराखेको छ। नेता भण्डारीले पार्टीहरु विधान सम्मत चलेनन भने देश संविधान सम्मत पनि चल्न नसक्ने बताएका छन्।

उनले भने, ‘पार्टीमा क्षमता अनुसार समान न्याय र अवसर दिन सकिएन भने सरकारको नेतृत्व गर्दा पनि जनतालाई समान अवसर र न्याय दिन सकिदैन। पार्टीहरुलाइ सबल सक्षम नबनाइ सरकार चल्न सक्दैन र राष्ट्र पनि अगाडी बढ्‍दैन । तसर्थ यसै रोगका कारण नेपाली कांग्रेस सानो भएको छ भने नेपाल सिमित व्यक्तिहरुको शिकार बनेको छ।’

नेता भण्डारीले पार्टीको विधान अनुसार चल्न नेतृत्व पनि पारदर्शी हुनेपर्ने बताएका छन्। नेता भण्डारीले कांग्रेस जस्तोसुकै शक्तिसँग पनि लड्न सक्षम भएको बताउँदै भने, ‘आफ्नै नेताबाट बचाउन अप्ठ्यारो परेको छ तसर्थ भागबण्डा, गुट, उपगुट, गिरोह , पदहरुको व्यापार, अविवेकशील निर्णय, विचार शुन्यहरुको बाहुल्यताका कारण नेपाली काँग्रेस इतिहासमा सबैभन्दा कमजोर भएको छ।’

नेतृत्व गर्ने व्यक्तिहरु धनी हुने र देश ,जनता र पार्टी गरिब हुने जुन परिपाटी नेपालमा विकास भएको छ ।अरु कुनै पनि देशमा यस्तो हुँदैन तसर्थ राम्रो र सक्षम पार्टीका लागी राम्रा विचार , ती विचारको नेतृत्व गर्ने राष्ट्रवादी सोच र समय अनुसारको विचारको नेतृत्व लिनसक्ने नेताका लागी नेपाली कांग्रेसको विधान निर्माणमा सतर्क बन्‍नुपर्ने नेता भण्डारीले सुझाएका छन्।

नेता भण्डारीले विधानमा निम्म ८ बुँदा समावेश हुनुपर्ने सुझाव व्यक्त गरेका छन्।

१-समानुपातिक प्रणाली अवसर हो धनी बाबु आमाले आफ्ना सन्तानलाई दिने दाइजो होइन। समानुपातिकको अवसर एकपटक भन्दा बडी कसैले पनी पाउनु हुदैन । कसैले गर्यो भने लेनदेनको आधारमा गरिएको ठानी भष्ट्रचार अभियोगमा कारबाही गरिनु पर्दछ ।

२- विधान पालना नगर्ने नेतृत्वलाइ बीचमा नै निकाल्न सक्ने व्यवस्था हुनु पर्दछ ।

३- जुनसुकै पदमा रहेपनि नेताहरु तल्लो निकायबाट प्रतिनिधित्व हुँदै आउने व्यवस्था गरिनु पर्छ।

४- तल्लो निकायहरु अधिकार सम्पन्‍न बनाउने र केन्द्रको हस्तक्षेपलाइ नियन्त्रण गर्ने ।

५- नेतालाइ कमजोर बनाउने होइन विवेकशील बनाउँदै विधानतः छाडा, परिवार र पैसा मुखी हुने प्रवृत्तिबाट बचाउन विधानतः बाँधनु पर्दछ ।

६- नेताहरुको सम्पत्ति पारदर्शी हुनु पर्ने व्यवस्था गरिनु पर्दछ ।

७- पार्टीको समिक्षा,अनुगमन , मुल्याड.कन र दण्ड र पुरस्कारको पारदर्शी व्यवस्थापन गरिनुपर्छ।

८- सामाजिक सदभाव भड्काउने र राष्ट्रविखण्डनमा लाग्नेहरुको सदस्यता खारेज गरिनुपर्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.