संसद्को रेकर्डबाट आफ्ना होइन, विपक्षीका ‘अमर्यादित’ शब्द हटाएको प्रधानमन्त्री ओलीको दाबी

रिपोर्ट नेपाल | 2019 May 16 | 06:33 am 1811

काठमाडौं, जेठ २: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रेकर्डबाट आफ्ना होइन, विपक्षीका ‘अमर्यादित’ शब्द हटाएको दाबी गरेका छन्। आफूले गैरसंसदीय शब्द प्रयोगै नगरेको उनको भनाइ थियो। मैले गैरसंसदीय शब्द प्रयोग गरेको छैन, भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकेर बुधबार फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग भने, सभामुखले पनि मैले कुनै गैरसंसदीय शब्द प्रयोग गरेको र त्यसलाई हटाउनुपर्छ भन्नुभएको छैन।

उनले थपे, बरु विपक्षी दलका सांसदबाट उत्ताउला र अमर्यादित शब्द प्रयोग भएका थिए। ती शब्द संसद्को रेकर्डबाट हटाइएको हो। संसद् मर्यादित थलो हो। यसको गरिमा र सम्मानमा कसैले पनि आँच पुर्‍याउनु हुँदैन।

सभामुख कृष्णबहादुर महराले पनि प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले जबाफ दिने क्रममा कांग्रेसका सांसदहरूले प्रयोग गरेका असंसदीय शब्द रेकर्डबाट हटाइएको व्याख्या गरेका छन्। यसअघि उनले प्रधानमन्त्रीले जबाफ दिने क्रममा गैरसंसदीय शब्द प्रयोग भएको भन्दै रेकर्डबाट हटाउन लगाएका थिए।

प्रधानमन्त्रीले फर्कने क्रममा सभामुखमाथि आक्रोश पोख्ने अनुमान थियो। तर, उनले महराको बचाउ गरे। उनको ‘निम्छरो’ शब्दप्रति कांग्रेस सांसदहरूको आपत्ति थियो। प्रधानमन्त्री ओलीले विगतमा सामन्ती संस्थाको मर्यादा राख्नुपर्छ भन्नेहरूले लोकतान्त्रिक संस्थाको अपमान गर्न थालेको आरोप लगाए। लगातार सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरूले लोकतन्त्रका आधारभूत संस्थाहरुको अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति देखापरेको छ, ओलीले भने, गणतन्त्रका सर्वोच्च संस्थामाथिको आक्रमण गणतन्त्रमाथिकै आक्रमण हो।

सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा आवश्यक परिवर्तन, परिमार्जन गर्ने ठाउँ रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आग्रह र आक्रोशका भरमा कसैको मानमर्दन र इज्जतमाथि धावा नबोल्न आग्रह गरे। विधेयकमाथि जनप्रतिनिधिहरूले छलफल गर्ने, गुण र दोष केलाउने तथा आवश्यकताअनुसार परिमार्जन गर्न सक्छन, ओलीले भने, आवेशमा आएर च्यात्ने, अमर्यादित कार्य गर्ने काम संसद्का लागि शोभनीय हुँदैन। मर्यादित बहस गर्न सकिन्छ। संसदमा विचाराधीन विधेयकका विषयमा संसदभन्दा अघि बढेर लोकतन्त्रको बदमान गर्नुपर्ने अवस्था नरहेको ओलीले बताए।

जननिर्वाचित सरकारलाई ‘कम्युनिस्ट’ को लेपन लगाएर अनर्थ लगाउन खोजिएको ओलीले आरोप लगाए। जननिर्वाचित सरकारलाई कम्युनिस्ट भन्नु भित्र कुटिलता लुकेको छ, ओलीले भने, यो त जननिर्वाचित सरकार हो। कम्युनिस्ट हो कि के हो ? वैशाख २६ देखिको एक साता लामो आफ्नो भियतनाम र कम्बोडिया भ्रमण सफल भएको ओलीले बताए। पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आपसी सम्बन्ध विस्तार, लगानी र पर्यटनका दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताए। आजको अन्नपूर्ण पोष्टमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.