काठमाडौँ, साउन १८ । गत असार २६ गतेको मन्त्रीस्तरीय बैठकले ६ कुटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेकोमा संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ । बुधवार र बिहीबार भएको २ दिनको संसदीय सुनुवाइपछि प्रस्तावित राजदूतहरूलाई अनुमोदन गरिएको कुरा पूर्व मन्त्री तथा संसदीय समितिका सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन् ।
यसरी संसदीय सुनुवाई समितिले अनुमोदन गरेका राजदूतहरुमा अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराई संसदीय सुनुवाइबाट अनुमोदन भएका हुन् ।