काठमाडौं, असार ३२ : संसद भवन अगाडिबाट कृष्ण पहाडीसहित दुई दर्जन भन्दा बढी अधिकारकर्मीहरु पक्राउ परेका छन् । अाेली नेतृत्वको सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले संसद भवन अगाडि नयाँ बानेश्वरमा आयोजना गरेको धर्ना प्रदर्शनबाट प्रहरीले दुई दर्जन भन्दा बढी अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको हो ।

सोमबार दिउँसोको धर्नाबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा। गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, केन्द्रीय सदस्य गिता तिमल्सिना, बाबुहरी आचार्य, काठमाण्डौँ शाखा सभापति रामकृष्ण बराल पक्राउ परे ।
यसैगरि विभागिय संयोजकहरु प्रताप पौडेल, बाबुराम न्यौपाने, विपि पौडेल, सदस्यहरु सनत आचार्य, सरस्वती ढकाल, ईश्वरा लिङदेन, टिकाराम पौडेल, टंक गैरे, लोकेन्द्र थापा, ईश्वरी प्रसाद नेपाल, रामचन्द्र खतिवडा, नानीकाजी गिरी, मुरारी फुयाल, सुकदेव अधिकारी लगायत दुई दर्जन भन्दा बढीलाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

धर्नामा अधिकारकर्मीहरुले सत्याग्रहीको जीवन रक्षा गर, स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।