काठमाडौं, संरक्षित वन्यजन्तु गैंडाको शिकार गरी खाग राख्ने एवं खरिदबिक्री तथा ओसारपसारमा संलग्न फरार प्रतिवादी चितवन कालिका नगरपालिका-९ शक्तिखोर ठेगाना भएका ४१ वर्षीय राम कुमार प्रजालाई प्रहरीले पक्राउ गरेको छ ।
चितवन कालिका नगरपालिका-११ घर भई हाल तनहुँ व्यास गाउँपालिका-११ मुलपानी बस्ने ठूलो कान्छा एवं सागर प्रजा भनिने ५२ वर्षीय विन्दर सिंह प्रजा समेत भएको गैंडा शिकार गरी खाग (आखेटोपहार) खरिद विक्री तथा ओसारपसार गरेको मुद्दामा फरार रहेका राम कुमारलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ हेटौंडाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन पठाईने बताइएकाे छ ।
स्लोभाकिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ
काठमाडौं, स्लोभाकिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा गोंगबुस्थित ग्लोबल भिलेज सोर्स प्रालिमा कार्यरत सामाखुशी बस्ने गुल्मी धुरकोट गाउँपालिका-६ स्थाई घर भएका ३२ वर्षीय ईन्द्र बहादुर पछाईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईन्द्र बहादुरले स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति ९ लाख ५० हजार रूपैयाँ लाग्छ र उता पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काममा लगाइदिन्छु मासिक १ लाख ३० हजार रूपैयाँसम्म तलब हुन्छ भनी प्रलोभनमा पारी ३ जना पीडितबाट जम्मा ५ लाख रूपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको छ ।