संक्रमित बढेपछि आइसोलेसन बनाउँदै मेयर फोरम

| 2020 Aug 26 | 07:58 am 1842

काठमाडौं, भदाै १०ः कोरोना महामारी समुदायस्तरमा फैलिन सक्ने आशंका गर्दै उपत्यकाका १८ स्थानीय निकायले निषेधाज्ञालाई निरन्तरता दिएर पीसीआर परीक्षणलाई बढाउने जनाएको छ । उपत्यकाका मेयर फोरममा आबद्ध १८ वटै स्थानीय निकाय आइसोलेसन तयार गर्न स्थान खोजीका क्रममा रहेका छन् ।

संक्रमितको संख्या झन्डै ३ हजार पुग्न थालेपछि चिन्तित देखिएका स्थानीय निकायका मेयरहरुले नगरपालिकास्तरमा नै आइसोलेसन बनाउन शुरु गरेका छन् । संघीय सरकारले आइसोलेसन व्यवस्थापन गर्नुपर्ने अडानमा रहेका १८ वटै नगरपालिकाका मेयरहरु आइसोलेसन बनाउने तयारीमा छन् । उनीहरुले संक्रमितलाई कुनै समस्या हुन नदिने बताएका छन् ।

फोरमको हरेक बैठकमा मेयरले सरकारले आइसोलेसन बनाउने र त्यसको व्यवस्थापन स्थानीय निकायले गर्नुपर्ने बताउँदै आएका थिए । पछिल्लो एक सातायता काठमाडौं र ललितपुर महानगरपालिकासहित १६ नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आफैले आइसोलेसन निर्माण गर्न शुरु गरेका छन् ।

मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकार र स्थानीय तह मिलेर आइसोलेसनको व्यवस्थापन भइरहेको बताए । उनले संघले सञ्चालन गरेका आइसोलेसनलाई कामपाले सहयोग गर्ने र अपुग भएको अवस्थामा थप व्यवस्थापन गर्ने बताए ।

उनी हिजो मंगलबार आइसोलेसन निर्माण गर्ने स्थानको विषयमा छलफल गर्न स्वास्थ्य मन्त्रालयमा पुगेका थिए । देशकै ठूलो काठमाडौं महानगरले आफ्नो आइसोलेसन बनाउन नसकेको भन्दै तीव्र विरोध भएपछि मेयर शाक्यसहितको टोलीले बल्ल प्रक्रिया शुरु गरेको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.