श्रोत नखुलेको ६ लाख बढी रकम सहित दुई भारतीय महिला पक्राउ

| 2020 Aug 19 | 04:04 pm 2502

रौतहट, भदौ ३ः श्रोत नखुलेको ६ लाख ४० हजार रकमसहित प्रहरीले २ जना भारतीय महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको विहार राज्य जिल्ला सितामढी बैरगनिया ग्राम पन्चायत वडा नम्बर १ सिन्दुरीयाकी ४५ वर्षीया शान्ती देवी र सोही स्थान बस्ने वर्ष ४५ वर्षीया मिना देवी रहेका छन् ।

उनीहरुलाई अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्रहरी सहायक निरिक्षक मनोज कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं. ३ महादेवपट्टीस्थित दशगँजा क्षेत्रमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिए ।

ती महिलाहरु प्रहरीको आँखा छलेर घाँस काट्ने बाहानामा नेपाल प्रवेश गर्न लागेका थिए । प्रहरीलाई उनीहरुको गतिविधिमाथि शंका लागेर उनीहरुको साथमा रहेको प्लाष्टिकको झोला चेकजाँच गर्दा झोला भित्र सो परिमाणको श्रोत नखुलेको नेपाली रुपैयाँ फेला परेको हो ।

उनीहरुले के उद्धेश्यका लागि रकम नेपाल भित्राउन लागेको अहिलेसम्म नखुलेपनि हुन्डी कारोवारी हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरी प्रमुख खड्काले उनीहरुमाथि आर्थिक अपराध अन्तरगत मुद्धा दर्ता गरेर थप अनुसन्धान भइरहेको र बाँकी जानकारी अनुसन्धानपछि प्रष्ट हुने बताएका छन् । कोरोना भाइरसका कारण नेपाल–भारत सिमाना बन्द रहेपनि जिल्लामा सिमानाका हुँदै हुन्डी कारोवारी जारी रहेको स्थानीयको गुनासो छ ।

उनीहरुले घाँस काट्रने बहानामा नेपाल आउने र घाँसको बोरामा घाँससँगै हुन्डीको रकम पनि ओसारपसार गर्ने गरेको स्थानीयको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.