श्रीलंकालाई पराजित गर्दै नेपाली महिला भलिबल टोली फाइनलमा प्रवेश

रिपोर्ट नेपाल | 2019 Nov 30 | 09:38 pm 3608

काठमाडौं, मंसिर १४: नेपाली महिला भलिबल टोलीले १३औं साग अन्तर्गत महिला भलिबलमा फाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पार्दै फाइनलमा प्रवेश गरेपछि नेपालले कम्तीमा पनि रजतपदक पक्का गरेको हो ।

नेपाल सागको महिला भलिबलमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि नेपाल सेमिफाइनल भन्दा अघि बढ्न सकेको थिएन । यसपटक नेपाल घरेलु भुमिमा भएको प्रतियोगितामा फाइनलमा पुग्न सफल भएको हो । यसअघि नेपालले १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेटमा २५–१४ को सहज जित निकालेको थियो । दोस्रो सेटमा पनि नेपालले २५–१८ को सहज जित निकालेको थियो । एक समयमा ९ अंकको आरामदायी अग्रता लिएर पनि श्रीलंका खेलमा फर्कदा नेपाल दवावमा परेको थियो । तर, नेपालले त्यसपछि केही अंक गुमाएपनि जित निकाल्न सफल भयो ।

तेस्रो सेटमा शुरुवात देखि नै श्रीलंकासँग पछि परेपनि नेपालले उत्कृष्ट पूनरागमन गर्दै जित निकाल्न सफल भयो । लगातार दुई अंकले पछि परेको नेपालले ११ अंकमा बराबरी गर्न सफल हुदै अग्रता लिँदै २५–२१ को जित हात पार्न सफल भएका छन् ।

अब नेपालले उपाधिको लागि मंगलबार भारतको सामना गर्नेछ । यसअघि पहिलो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.