शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्छ : शिक्षामन्त्री पोखरेल

रिपोर्ट नेपाल | 2018 Aug 20 | 04:05 pm 3808

काठमाडौं, भदौ ४ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन्। प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को ५८औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने बताएका हुन् ।

शिक्षित युवाहरु पनि बेरोजगार भएको उनले बताए । “उच्च शिक्षा लिएर पनि कतिपय विद्यार्थी बेरोजगार भएका छन्”, उनले भने , “अब बेरोजगार होइन दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षाको आवश्यकता छ, त्यसतर्फ ध्यान दिनु जरुरी छ ।” उनले परम्परागतरुपमा विश्वविद्यालय चलेकाले अब नयाँ ढङ्गले शिक्षा दिनुपर्ने धारणा राखे।

शिक्षा व्यापार नभई सेवा भएकाले त्यहीअनुसार काम गर्नुपर्ने उनको भनाई थियो। दुई वर्षभित्र साक्षर नेपाल बनाइने मन्त्री पोखरेलले घोषणा गरे। विद्यार्थी र शिक्षकलाई स्वयमसेवी ढङ्गले लागेर दुई वर्षभित्र साक्षर नेपाल बनाउने अभियानलाई सफल बनाउन उनले आग्रह गरे। यस वर्ष सञ्चालन गरेको विद्यालय भर्ना अभियान नमूना भएको र भदौभित्र विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गर्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.