डोटी, जेठ २८:शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएपछि जिल्लाको आदर्श गाउँपालिका– ६ गरीचौकामा रहेको कपिलास आधारभूत विद्यालयमा विद्यार्थीको संख्यामा वृद्धि भएको छ ।
शिक्षाका लागि खाद्य कार्यक्रमले विद्यार्थीलाई दिवा खाजा दिन सुरु गरेपछि विद्यालयमा आउने विद्यार्थीको संख्या बढ्दै गएको हो । यो कार्यक्रम लागू हुनुभन्दा पहिले विद्यालय उमेर समूहका धेरै बालबालिकाहरु घरमा नै बस्ने, विद्यालयमा भर्ना भएकाहरूको पनि नियमित उपस्थित नहुने जस्ता समस्या थिए ।
दिउँसोको खाजा कार्यक्रम सुरु भएपछि बालबालिकाहरुको नियमित उपस्थित हुनुका साथै विद्यालय उमेर समूहका सबै बालबालिकाहरु विद्यालयमा आउन थालेको प्रधानाध्यापक बलबहादुर बोहराले बताए ।
पहिले विद्यालय आउने उमेर समूहका विद्यार्थी विद्यालय आउन मान्दैनथे । आएका पनि नियमित बस्दैनथे । अहिले यस्तो समस्या हटेको छ । विद्यार्थीको विद्यालयमा उपस्थिति पनि बढ्दै गैरहेको छ । नयाँ बालबालिका पनि भर्ना भएका प्रधानध्यापक बोहोराले जानकारी दिए ।
खाजा सुरु भएपछि वडाका कम्तीमा पनि तीन सय जनाभन्दा बढी बालबालिकाहरु अहिले विद्यालयमा निमित आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । उनका अनुसार दिवा खाजाले विद्यालयमा विद्यार्थीहरुको संख्या त बढ्यो तर विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कम हुँदा पढाउनमा केही समस्या देखिन थालेको जानाए।
साथै विद्यालयको भौतिक संरचना समेत पुरानो हुँदा पठनपाठनमा समस्या देखिएको उनले जानकारी दिए । कक्षा ५ सम्मको अध्यापन गराइने यो विद्यालयमा जिल्ला शिक्षाको अनुदानमा एउटा दुई कोठे भवन रहेको छ भने विद्यालयमा रहेको एउटा मात्र पुरानो भवन पनि जीर्ण अवस्थामा रहेको बताए ।