शिक्षकको पिटाइले ३ छात्रा घाइते

रिपोर्ट नेपाल | 2019 Jun 28 | 03:32 pm 1937

काठमाडौं, असार १३:  धनकुटाकाे छथरजोरपाटीस्थित एक निजी विद्यालयका शिक्षकको कुटपिटबाट तीन छात्रा घाइते भएका छन् । सेतो गुराँस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक यसुन ओझाले बुधबार पाइपले कुटपिट गर्दा कक्षा १० मा अध्ययनरत विभूति सुब्बा, चन्द्रकला मगर र अस्मिता मगर घाइते भएका हुन् ।

तेस्रो घन्टीमा विज्ञान विषयको पढाइका क्रममा प्रश्न सोध्दा उत्तर दिन नसकेपछि अन्धाधुन्द कुटपिट गरिएको छात्राहरू बताउँछन् । उनीहरूको पिँडुला, हात र पिठ्युँमा नीलडाम छ । पाइपले कुटेपछि पुनः हातले गालामा पिटेको उनीहरूको भनाइ छ ।

‘उत्तर पूरा दिइनसक्दै सरले पाइपले कुटपिट गरेपछि सारै डर लाग्यो,’ विभूतिले भनिन्, ‘छेउको साथीलाई कुटेको देख्दा डरले मलाई उत्तर आए पनि बिर्सिएँ, अनि ममाथि पनि कुटपिट गर्नुभयो ।’ बिहीबार अपराह्न घटनास्थल पुग्दा भेटिएका घाइते छात्राहरूको नीलडाम देख्न सकिन्थ्यो । दुखाइले छोरी रातभर निदाउन नसकेको चन्द्रकलाकी आमा गीताले बताइन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

यसैबीच घाइते छात्राका अभिभावकले कुटपिटमा संलग्न शिक्षकलाई कारबाही माग गरेका छन् । उनीहरूले शिक्षकलाई विद्यालयबाट निष्कासन गर्नुपर्ने, उपचार खर्च व्यहोर्नुपर्ने जनाएका छन् । विद्यालय प्रशासन, व्यवस्थापन समिति र अभिभावकबीच छलफल भए पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।

प्रिन्सिपल साधना भुजेलले निजी विद्यालयमा विद्यार्थीको हितकै लागि डरत्रास देखाउनु सामान्य भए पनि पछिल्लो घटनामा शिक्षकको चरम गल्ती भएको बताइन् । शिक्षक ओझाले अभिभावकसामु क्षमायाचना गरेको उनले दाबी गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.