सल्यान, असार ४ः जिल्लाको शारदा नगरपालिका ६ बरालास्थित शारदा नदिको टापुमा फसेका १२ जनाको सकुशल उद्वार गरिएको छ ।
खेतमा रोपाई गर्न गएका ९ जना पुरुष तथा ३ जना महिला सो नदिमा पानीको बहाव बढेपछि उक्त टापुमा फसेका थिए ।
सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सल्यानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष रायमाझीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले विभिन्न निकायको सहयोगमा उनीहरुको सकुशल उद्वार गरिएको हो ।
उद्वार गरिएका व्यक्तिहरुमा सल्यान जिल्लाको शारदा नगरपालिका ६ बस्ने ४० वर्षीय छविलाल बिक, २० वर्षीय हिरालाल बिक, ४० बर्षीया सुशिला गौरी, ४७ बर्षीया काली बिक, १८ बर्षीया गिता गिरी, ५५ वर्षीय तेजबहादुर बस्नेत, ५६ बर्षीय शुकलाल गिरी, ४९ बर्षीय देविलाल बिक, १४ बर्षीय मनोज बिक, १७ वर्षीय दिपेन्द्र बिक, ४६ वर्षीय कुमार बिक र ४० वर्षीय प्रेमलाल बिक रहेका छन् ।
दाउरा झिक्ने क्रममा कोशी नदिमा डुवेकी बालिकाको शव सशस्त्र प्रहरीद्वारा फेला
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलुवास्थित कोशी नदिमा दाउरा झिक्ने क्रममा डुवेकी एक बालिकाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।
सोही ठाउँ बस्ने ८ वर्षीया अञ्जली यादव उक्त नदिमा डुवेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश डलवाबाट खटिएको सशस्त्र प्रहरीले उनको नदिबाट बाहिर निकालेको हो ।
लागूऔषधसहित एक पक्राउ
सिरहा जिल्लाको बरियापट्टि गाउँपालिका ३ चमार टोलबाट सशस्त्र प्रहरीले ३ सय वटा नाईट्रोजन ट्याबलेटसहित सोही जिल्लाको सुखिपुर नगरपालिका १० बस्ने बिसुनदेव यादवलाई पक्राउ गरेको छ ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो ।
पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
चोरीनिकासीको स्याउसहित पिकअप भ्यान नियन्त्रण
जनकपुर उपमहानगरपालिका २४ स्थित निम चोकबाट सशस्त्र प्रहरीले करीव २ लाख ४६ हजार रुपैयाँ बराबरको चोरीनिकासीको स्याउ सहित ना ४ ख ४४४२ नम्बरको पिकअप भ्यान बरामद गरेको छ ।
उक्त भ्यानमा राखेर भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको १ सय ७ कार्टुन स्याउ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुलगामाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद स्याउ तथा भ्यान भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।
काठ बरामद
कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका ७ पर्शुरामघाटको झाडीबाट सशस्त्र प्रहरीले करीव १ लाख ४३ हजार रुपैयाँ बराबरको सिसौको काठ बरामद गरेको छ ।
लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको करीव ४० क्यूफित सिसौको काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बिजयनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय ठाकुरपुरमा बुझाईएको छ ।