शशांकले भने, ‘अब कांग्रेस कोइराला परिवारकै नेतृत्वमा फर्किन्छ’

रिपोर्ट नेपाल | 2018 Sep 23 | 11:05 am 1663

बुटवल, असोज ७: नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अब पार्टीको नेतृत्व कोइराला परिवारमै फर्काउने दाबी गरेका छन्। उनले आगामी सभापति कोइराला परिवारबाट नै हुने दावी गरेका हुन्। कार्यकर्ताको माया र चाहनाअनुसार नै कोइराला परिवार सभापतिमा आउन लागेको उनले बताए ।

रुपन्देहीको बुटवलमा आइतबार आयोजित साक्षात्कारमा महामन्त्री कोइरालाले भने, ‘शेखर दा, म र सुजातामध्ये सभापतिमा एकजना सहमतिमै आउँछौं ।’

देशभरका कांग्रेस नेता कार्यकर्ताको माया र चाहना कांग्रेस नेतृत्वमा कोइराला परिवार नै आओस् भन्ने रहेको आफूले देश दौडाहामा थाहा पाएको उनले सुनाए ।

कोइरालाले अब हुने महासमितिमा बैठकमा नयाँ विधान पारित गरिने समेत बताए । कम्तिमा आउँदो ३० वर्षका लागि विधान बनाउने उनले प्रष्ट पारे ।

चार वर्ष पछिको चुनाबमा कांग्रेस पहिलो श्रेणीमा पुग्ने उनको विश्वास छ । उनले पार्टी सभापतिको अधिकार पनि विकेन्दि्रत गर्नुपर्ने धारणा राखे। ‘कांग्रेस विवादमा अल्झने अवस्था छैन, अब नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘सभापतिको अधिकार पनि विकेन्द्रीकरण गर्नुपर्ने मेरो धारणा छ, तल्लो तहलाई पनि बलियो बनाउनुपर्छ, गाउँ र प्रदेशमा अधिकार दिनुपर्छ ।’

वर्तमान सरकार संघीयताको मर्म विपरित चलिरहेको उनले आरोप लगाए । ‘सरकारले कुनै योजना तर्जुमा गर्न सकेको छैन, केन्दि्रकृत शासन चलाइरहेको छ, संघीयताको मर्म बुझेको छैन,’ डा. कोइरालाले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.