शव व्यवस्थापन गर्दा पोखरामा अबरोध, स्थिति नियन्त्रणमा लिन हवाइ फायर

रिपोर्ट नेपाल | 2020 Jun 25 | 04:00 pm 1926

कास्की, असार ११ः कोरोना संक्रमित व्यक्तिको मृत्यु भएपछि पोखरामा शव व्यवस्थापन गर्ने क्रममा स्थानीय बासिन्दाले बिरोध गरेका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएका स्याङ्जाका संक्रमितको शव पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा व्यवस्थापन गर्न लाग्दा स्थानीयले टायर बालेर अबरोध गरेका हुन् ।

शव व्यवस्थापनका लागि डोजरले खाल्डो खन्न थालेको थाहा पाएलगत्तै स्थानीय बासिन्दाले आन्दोलन र शव लैजान अवरोध गरेका थिए । तर सुरक्षा निकायले शव व्यवस्थापनका लागि घाटतर्फ लैजाँदै प्रहरी स्थानीय बासिन्दाबीच झडप भएको थियो ।

झडपमा दुई जना प्रहरी र १० जना भन्दा बढी स्थानीय बासिन्‍दा घाइते भएका छन् । प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।

कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले शव व्यवस्थापन गरेर फर्किने क्रममा झडप भएको बताए । ‘सुरुदेखि नै अवरोध सिर्जना भइरहेको थियो । पछि सदगद गरेर फर्किनेबेला स्थिति असामान्य बन्न पुगेको हो, उनले भने, नाकामा चेकिङका लागि राखिएका टेन्टमा सामान्य क्षति पुगेको छ ।

झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।

यसअघि कास्कीमा कोरोनाका कारण मृत्यु भएका स्याङ्जाका ६० वर्षीय एक पुरुषको शव व्यवस्थापनमा पनि स्थानीय बासिन्दाले अवरोध गरेका थिए ।

बस्ती नजिक भएको र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत शव व्यवस्थापन गर्न लागिएको भन्दै जनप्रतिनिधिले नै अवरोध गरेका थिए । त्यतिबेला पनि प्रहरी र स्थानीयबीच झडप हुँदा वडाध्यक्षसहित केही प्रहरीसमेत घाइते हुन पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.