शनिबार हुने उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

रिपोर्ट नेपाल | 2019 Nov 29 | 08:29 am 2951

काठमाडौं, मंसिर १३: शनिबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। संघ, प्रदेश र स्थानीय तहमा रिक्त पदमा जनप्रतिनिधि बहाली गर्न ३७ जिल्लाका २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रमा उपनिर्वाचन हुँदै छ।

यसमध्ये प्रतिनिधिसभातर्फ ३२ मतदानस्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यततर्फ ७८ मतदानस्थल र १ सय ७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थल र २ सय ८१ मतदान केन्द्र तोकिएको छ।

८ सय वा सोभन्दा बढी मतदाता भएका केन्द्र ३ सय ३७ र ८ सयभन्दा कम मतदाता रहेका केन्द्र २ सय छन्।आयोगका अनुसार निर्वाचन गराउन मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू मतदानका आवश्यक सामग्रीसहित मतदान केन्द्रमा पुगिसकेका छन्।

उपनिर्वाचन सम्पन्न गर्नका निम्ति आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्यतर्फ भक्तपुर क्षेत्र नं १ को १, बागलुङ क्षेत्र नं २ को २, दाङ जिल्लाको क्षेत्र नं ३ को २ गरी प्रदेशसभा सदस्यतर्फ–३ जनाका लागि उपनिर्वाचन हुन लागेको हो।

यस्तै स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख–१ जना, संखुवासभा जिल्ला मकालु गाउँपालिकाको अध्यक्ष–१, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष–१, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष–१ गरी गाउँपालिका अध्यक्ष–३ जना, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ जना र विभिन्न गाउँपालिका तथा नगरपालिकाको वडाध्यक्ष–४३ समेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुनेछ। नेपाल समाचारपत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.