व्यावसायिक किवी खेतीमा आकर्षण

रिपोर्ट नेपाल | 2023 Feb 07 | 07:35 am 1029

गुल्मी, माघ २४ः गुल्मीको सत्यवती गाउँपालिकाका कृषकले जिल्लामै सबभन्दा बढी किवी खेती गर्ने गरेका छन् ।

गाउँपालिकाको भार्सेमा हाल २२ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा गरिँदै आएको किवी खेतीबाट किसानले ३८ टन किवी उत्पादन गरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । यहाँ उत्पादन गरिएको किवी स्थानीय बजारदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म पुग्ने गरेको छ ।

भार्से गाउँलाई गाउँपालिकाले किवीको पकेट क्षेत्र घोषणा गरेको छ । किवी खेतीबाट किसानको आय वृद्धि गर्न गाउँपालिकाले सहयोग गरेको सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले बताए ।

किवी खेतीका लागि कृषि ज्ञान केन्द्र गुल्मीले पोल, बिरुवा र सिँचाइमा सहयोग गर्दै आएको छ । किसानलाई किवी खेती गर्न प्रोत्साहन गर्न ज्ञान केन्द्रले किवीको पकेट क्षेत्र निर्धारण गर्ने कार्यालय प्रमुख नवराज भण्डारीले बताए । अहिले व्यावसायिक किवी खेतीमा किसानको रुचि बढेको उनले जानकारी दिए।

किवी खेती गरेर वार्षिक तीन लाख रुपियाँभन्दा बढी आम्दानी गरेको बताउँदै भार्सेका शिवलाल थापाले अन्य खेतीको तुलनामा किवी खेतीबाट राम्रो आम्दानी हुने जानकारी दिए । बाँदर, बँदेल र चराचुरुङ्गीबाट अन्य बाली जोगाउन मुस्किल परिरहेको अवस्थामा किवी खेती वरदान बनेको स्थानीय कृषकले बताएका छन् ।

यस जिल्लाको सत्यवती गाउँपालिकालगायत कालीगण्डकी, मदाने, मालिका र धुर्कोट गाउँपालिकामा किसानले किवीको व्यावसायिक खेती गर्न सुरु गरेका छन् । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.