वैकल्पिक ऊर्जा मार्फत बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा

रिपोर्ट नेपाल | 2020 Sep 21 | 09:09 pm 1862

  • थम्मन थापा

बागलुङ, असोज ५ः अविरल वर्षा सँगै गत भदौ १७ गते राती ढोरपाटन नगरपालिकाको वडा नं ९, ८ र ७ बोबाङ स्थित भुजिखोलामा बाढी आई बाढीले अकल्पनीय मानविय तथा भौतिक क्षति पुर्याएको छ ।

बाढीले भूजिखोलामा संचालित लघु जलविद्युत गृहहरु बगाउँदा विद्युत सेवा बन्द भएपछि त्यस क्षेत्रमा मोवाइल सेवा अवरुद्ध भएको थियो ।

सडकमा बाढीले क्षती पुराएको हुँदा तत्काल त्यहाँ मोवाइल सेवा सञ्चालनमा आउन सकेको थिएन । ढोरपाटन नगरपालिकाको पहलमा केही दिन पहिले सडक मर्मत पश्चात अहिले सडक सञ्चालनमा आएको छ । सडक सुचारु भए सँगै नेपाल टेलिकमले अवरुद्ध मोवाइल सेवा पुन सञ्चालनमा ल्याएको छ ।

तत्काल त्यहाँ रहेका लघु जलविद्युत सञ्चालनमा आउने सम्भावना नरहेपछि टेलिकमले वैकल्पिक ऊर्जा सोलार जडान गरी सेवा सुचारु गरेको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनयर केशव शर्माले जानकारी दिए ।

ढोरपाटन नगरपालिका ८ बोवाङ बिजौरेमा रहेको टावरमा १ सय ३५ वाटको २४ थान सोलार जडान गरेर अवरुद्ध सञ्चार सेवा सञ्चालन गरिएको वरिष्ठ इन्जिनियर शर्माले बताए ।

सेवा सुचारु गर्न नेपाल टेलिकमले पोखराबाट प्राविधिक टिम सहित सोलार सेट व्यवस्थापन गरेको थियो ।

विद्युत आपूर्ति बन्द हुँदा बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवाबाट सेवाग्राही वञ्चित भएका थिए । सालझण्डी ढोरपाटन सडकबाट टावरसम्म सामाग्री पुर्याउन स्थानीय बासिन्दा, विपत व्यवस्थापनमा खटिएको नेपाल प्रहरीको टिम र जनप्रतिनिधिले सहजीकरण गरेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले जानकारी दिए ।

कोरोना कहर र प्रतिकूल मौसमका बावजुत जनताको सञ्चार सुविधालाई मध्यनजर गर्दै टावर सञ्चालनमा ल्याइएको नेपाल टेलिकम पोखराका इन्जिनियर कुमोद कुमार महतोले बताए ।

अवरुद्ध मोवाइल सेवा सुचारु गर्न सहयोग गर्ने सबैमा नेपाल टेलिकमले आभार समेत व्यक्त गरेको छ ।

बोबाङको विजौरेको टावर अवरुद्ध हुँदा त्यस आसपास र ढोरपाटन नेपानेमा रहेको टावरमा रेडियो लिंक बन्द रहेको थियो । लिंक बन्द हुँदा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा मोवाइल सेवा अवरुद्ध रहेको नेपाल टेलिकम पोखराका इन्जिनियर शिव प्रसाद पौडेलले जानकारी दिए ।

टावरमा सोलार जडान गर्न प्राविधिक कटक बहादुर गुरुङ सहितको टिम बोवाङ पुगेका थिए । नेपाल टेलिकमको नमस्ते मोवाइल सेवा अवरुद्ध हुँदा ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ का बासिन्दा सञ्चार सेवाबाट वञ्चित हुनुका साथै बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा समस्या भएको थियो ।

सोमबार देखि मोवाइल सेवा सञ्चालनमा आए सँगै स्थानीयहरू खुसी भएको ढोरपाटन नगरपालिका ९ का वडा अध्यक्ष हरि बहादुर घर्तीले जानकारी दिए ।

ढोरपाटन नगरपालिका र नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रको समन्वयमा यस वर्ष भित्र नगरपालिका भर केन्द्रीय विद्युत पुर्याउने गृहकार्य भइरहेको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.