काठमाडाैं, जेठ ५ः वैंकिङ् कसूर मुद्दाका फरार एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा गोरखा सिरानचोक गाउँपालिका. वडा नं. ४ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३ बस्ने बर्ष ३७ का प्रकाश रेग्मी रहेका छन् ।
उनले मिति २०७६/०७/१० मा मुक्तिनाथ बिकास वैंक लिमिटेड महाराजगंज शाखामा रहेको निजको खाताबाट रकम
भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनले वैंकिङ् कसूर मुद्दामा मिति २०७८/१२/२२ मा फैसला गरेकाे थियाे ।
रेग्मीलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा १ दिन कैद र रु.९ लाख रुपैंया जरिवाना हुने ठहर
गरेकोमा यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले प्रतिवादीलाई मिति २०७९/०२/०५ गते बुढानिलकण्ठ, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी दिएकाे छ ।