वीरगंज प्रहरीमा सईको इसारा एसपीको नृत्य

| 2021 Apr 12 | 02:20 pm 17801

पर्सा, चैत ३०ः प्रहरी महानिरीक्षक शैलेस थापा क्षत्रीको भष्ट्राचार सुन्य सहनशिलताको नारालाई पर्साका एसपी बेलबहादुर पाण्डेले धोती लगाइदिएका छन् ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार एसपी पाण्डेले मालपानी उठाउने मामिलामा यस अघिका एसपीलाई समेत पछाडी पारेका छन् ।

विपद् व्यवस्थापन जनकपुरमा दरबन्दी भएका सई सुवर्ण विक्रम राणालाई पर्सा ल्याएर क्राइम हेर्ने जिम्मा दिइएपछि क्राइम गर्नेको सुराकी नगरेर पैसा उठाउन प्रयोग गरिएको छ ।

सई राणाको डिजाइनमा अन्यत्र सरुवा भएका युनिटका इन्चार्जलाई दरबन्दीमा नपठाएर नौलो तरिकाबाट पैसा उठाउने काम भइरहेको छ ।

महोत्तरी दरबन्दी भएका सई बिनोद राना मगरलाई ड्रइपोट प्रहरी चौकीमा कायम राखेर उनले एसपी पाण्डेका नाममा रकम उठाइरहेका छन् ।

त्यस्तै महोत्तरी नै दरबन्दी भएका सई प्रेम खत्रीले पनि राणाको आशिर्वाद प्राप्त गरेका छन् । सप्तरी दरबन्दी भएका सई सोमप्रसाद रिमाल र इनरुवा गाउँमा मालपानी फिट्दै बसेका असई मोहन आलेले पनि क्राइम कमाण्डर राणा मार्फत एसपी पाण्डेलाई राम्रै नजराना चढाएको समाचार स्रोत बताउँछ ।

जनकपुर दरबन्दी भई प्रहरी चौकी गोडागाईमा मस्ती मारेका असई नेत्रबहादुर खड्काले माहिनामा पाँच लाख उठाएर राणा मार्फत चढाउने गरेको बुझिएको छ ।

विभिन्न चौकीका इन्चार्जलाई पैसा उठाउने छुट्टाछुट्टै निर्देशन दिइएकोले एक ठाउँबाट अर्को ठाउँमा जान सबै इन्चार्जलाई निषेध गरिएको छ ।

पैसा उठाउन समस्या गराउने भन्दै आ–आफ्नो एरिया भन्दा बाहिर गए कारबाही गर्ने धम्की स्वयम् एसपी पाण्डेले दिएका छन् ।

केही दिन अगाडि अक्षयलाल साह, रामेश्वर तिवारी लगायत झण्डै आधा दर्जन व्यापारीसँग पहिला पैसा आएको र पछि दररेट नमिलेपछि ६५ पोका कपडा समाएर भन्सारलाई बुझाएको नाटकले स्थानीयबीच एसपीको धन्दा छर्लङ्ग भएको हो ।

मुना साह, रामु गुप्ता, लड्डु रौनियार, तार्केश्वर साह, बिनोद साह, चन्दन अग्रवाल, गिरीयानी गुप्ता, गुड्डु, सन्दीप, अनिल कुशहवा, भोला गुप्ता, मुना कुशहवा, मदन गुप्ता भन्ने रुन्चे अक्षयलाल साह नामका सिमा नाकाबाट सामान ओहोर दोहोर गराउने व्यापारीसँग एसपी पाण्डेलाई सई राणा मार्फत राम्रै परिचय गराइदिएर लेनदेन चल्ने गरेको छ ।

व्यापारीको पहिचान गराउन र रकम मोलमोलाई गर्नका लागि स्थानीय दुई जना पत्रकारलाई परिचालन गरिएको छ । पेशागत मर्यादा बाहिर गएर काम गरिरहेका पत्रकारधारी ति व्यक्तिको छिट्टै रिपोर्ट नेपालले नाम सार्वजनिक गर्नेछ ।

सई राणाले ९८५५०९००७७ को नम्बरबाट विभिन्न युनिटका इन्चार्जलाई लाइन दिने, उठाउने र समाउने निर्देशन दिने गरेका छन् । सई मार्फत नजराना चढाउन नसक्नेलाई हटाउने र मोलमोलाई गरेर सईले पठाउने गरेको दृष्य देखेका पर्साका प्रहरीले सईको तालमा एसपीको नाच भनेर टिप्पणी गर्न थालेका छन् ।

२०५१ सालमा असईबाट सेवामा प्रवेश गरेका एसपी बेलबहादुर पाण्डे २०५६ सालमा इनेस्पेक्टरमा नाम निकालेका अधिकृत हुन् । पूर्व प्रहरी नायब महानिरीक्षकका नाता पर्ने पाण्डेले उनी बहालमा हुँदा पनि राम्रो अवसर र फाइदा लिएका थिए ।

कुनै दुर्घटना नभए २०८१ मा नागरिक बन्न घर जाने पाण्डेले अब यस्तो मालदार ठाउँ नपाइने भन्दै राम्रोसँग तर मार्ने गरेको जिप्रका पर्साकै प्रहरी कर्मचारी र स्थानीय व्यापारी बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.