वीर अस्पतालको नयाँ भवन सञ्चालनमा आउन सकेन

| 2021 May 23 | 07:30 am 1777

काठमाडौँ, जेठ ९ः वीर अस्पतालको नयाँ भवनलाई कोरोना सङ्क्रमितका लागि एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरिए पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । अक्सिजन आपूर्ति सहज नहुँदा एकीकृत अस्पताल सञ्चालनमा समस्या परेको हो ।

गत वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई पाँच सय शय्याको एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो । मुलुकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालमा शय्या अभाव हुन थालेपछि सरकारले सो निर्णय गरेको थियो तर निर्णय भएको दुई हप्ता बित्न लाग्दा पनि वीर अस्पतालको नयाँ भवन कोरोना सङ्क्रमितको उपचारका लागि सञ्चालनमा आउन सकेको छैन । अहिले पनि सो भवन प्रयोगविहीन अवस्थामा छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सरकारको सो निर्णय कार्यान्वयनको जिम्मेवारी वीर अस्पताल प्रशासनलाई दिइसकिएको जानकारी दिए । नयाँ भवनमा कोभिड–१९ को एकीकृत केन्द्रीय अस्पताल सञ्चालन गर्ने सम्पूर्ण जिम्मेवारी अस्पतालकै रहेको स्पष्ट पार्दै उनले अहिलेसम्म सरकारको निर्णयबमोजिम अस्पताल सञ्चालनमा आउन नसक्नुमा वीर प्रशासनकै दायित्वभित्र पर्न आउँछ भने ।

उनले नयाँ भवनमा अक्सिजन प्लान्ट तथा ट्याङ्क जडानका लागि मन्त्रालयले वीर अस्पताललाई आवश्यक रकम उपलब्ध गराइसकेको जानकारी दिँदै अक्सिजन प्लान्ट र ट्याङ्क जडान भएको भोलिपल्ट नै मन्त्रालयले तरल अक्सिजनको आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वीर अस्पतालका निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्णय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनबमोजिम वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९को एकीकृत केन्द्रीय अस्पतालका रूपमा सञ्चालन गर्न आवश्यक जनशक्तिको तयारी भइसकेको बताउँदै पर्याप्त अक्सिजन सिलिन्डरको अभावले सञ्चालन हुन नसकेको स्पष्ट पारे ।

अक्सिजन आपूर्तिका लागि आफूले मन्त्रालयमा पहल गरिरहेको बताउँदै उनले भने, “नियमित रूपमा अक्सिजनको जति आपूर्ति हुनसक्छ, त्यसका आधारमा हामी बिरामी भर्ना लिई अस्पताल सञ्चालन गर्न सक्छौँ ।” जनशक्ति र आवश्यक पूर्वाधार तयारी अवस्थामा छ तर अक्सिजन अभावले तत्काल अस्पताल सञ्चालनमा आउन नसकेको उनले स्पष्ट पारे । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.