काठमाडौं, असार १९: सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ। उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ।
भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले जाँच गर्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जनाएको हो।
दूतावासको पत्रमा भारतबाट निर्वाध रुपमा नेपालमा खाद्यलगायत सामग्री भित्रिन पाउनुपर्ने भन्दै जाँचप्रति आपत्ति जनाइएको छ। पत्रबाहेक दूतावासका अधिकारीहरुले पनि सरकारका मन्त्री र मन्त्रालयका उच्च कर्मचारीलाई भेटेर जाँच गर्ने व्यवस्था हटाउन माग गरेका छन्।
जेठ १० मा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी उद्योग वाणिज्य मन्त्रालयले भारतलगायत मुलुकबाट आयात हुने ‘क्याफिन’युक्त शक्तिवर्दक पेय पदार्थमा पूर्ण बन्देज लगाएको छ। सोही निर्णयअनुसार आयात हुने ताजा तरकारी, फलफूल सम्बन्धित भन्सार बिन्दुमा ‘क्वारेन्टाइन’ र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य परीक्षण गर्नुपर्छ।
नयाँ व्यवस्था अनुसार भैरहवा (सुनौली), वीरगन्ज, काँकडभिट्टालगायत नाकाबाट भित्रिने तरकारी तथा फलफूलको क्वारेन्टाइन र विषादी मात्रा परीक्षण गर्न थालिएको छ। विषादीरहित प्रमाणित सामान मात्र नेपाल भित्रिन दिइन्छ। यसअघि सीमानाकाबाट बिनाजाँच निर्वाध रुपमा तरकारी, फलफूललगायत खाद्य पदार्थ भित्रिने गरेका थिए।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक सहसचिवका अनुसार सरकारले सीमानाकाबाट भित्रिने तरकारी र फलफूलमा जाँच कडा बढाएपछि त्यस्तो नगर्न भारतले आफ्ना संयन्त्रमार्फत दबाब बढाएको हो।
नयाँ व्यवस्थाअनुसार अनिवार्य रुपमा भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण गरेपछि मात्र भन्सारले सम्बन्धित ठाउँमा लैजान अनुमति दिन्छ, ती सहसचिवले भने, तर भारतले पठाएको पत्रमा क्वारेन्टाइन जाँच गरेपछि पनि किन विषादी परीक्षण गर्नुपर्ने भनिएको छ। क्वारेन्टाइन र पेस्टिसाइट जाँच फरक विषय हुन्। भारतले सिमानामा विषादी जाँचका लागि प्रयोगशाला नभएको भन्दै उत्पत्तिको प्रमाणपत्रकै आधारमा भित्रिन दिनुपर्ने जिकिरसमेत गरेको छ। नागरिक न्युजबाट